चार हजारभन्दा बढी उद्योग–व्यवसाय बन्द: राम्रै आम्दानी गरिरहेको दाङ घोराहीको गौतम पोल्टी फार्म कोरोनापछि बन्द हुने अवस्थामा पुगेको छ ।
करिब डेढ करोड लगानी भएको फार्म कोरोनाकालपछि लगानी उठाउन पनि सकस हुन थालेकाले बन्दै गर्नुपर्ने अवस्था आएको सञ्चालक लीलाधर पाठकले बताए ।
‘तीन–चार वर्ष राम्रै चलेको थियो,’ उनले भने, ‘जब कोरोना सुरु भयो, त्यसपछि घाटाको घाटा भयो, अहिले बन्दै गर्नुपर्ने अवस्थामा आइपुगेको छ ।’
०७० सालमा सञ्चालनमा आएको फार्मले दानाको काम गर्दै आएको उनले बताए ।
त्यस्तै, पाल्पाका श्याम घर्तीले पनि तीन–चार वर्षजति चलाएको रेस्टुरेन्ट बन्द गरे ।
रैनादेवी छहरा– ३ मा रहेको रेस्टुरेन्ट घाटामा गएपछि त्यो बेचेर किराना पसल चलाउन थालेको उनले बताए ।
करिब सात लाख लगानी रेहेको रेस्टुरेन्टको लगानीसमेत उठाउन नसकेको उनको गुनासो छ ।
त्यस्तै, दाङ घोराहीकै गीता थापाले चार वर्षअघि घरेलुमा फार्म दर्ता गरेर लोकल जातका कुखुरापालन र तरकारी खेती गरेकी थिइन् ।
तर, पछिल्लो समय कर तिर्नसमेत नसक्ने अवस्था आएपछि फार्म बन्द गर्न बाध्य भएको उनले बताइन् ।
‘६ वर्षअघिदेखि कुखुरापालन र तरकारी खेती गर्दै आएकी थिएँ, तर चार वर्षअघि मात्रै दर्ता भएर चलाएकी हुँ,’ उनले भनिन्, ‘अहिले मलाई कर तिर्नै धौ–धौ भएर फार्म बन्द गरिदिएँ ।’
कर कार्यालयमा सात हजार पाँच सय र वडा कार्यालयमा दुई हजार दुई सय रुपैयाँसम्म तिर्न सक्ने अवस्था नभएपछि फार्म बन्द गरेको उनको भनाइ छ ।
यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । पछिल्लो समय व्यापार घाटा भएकै कारण घरेलु तथा साना उद्योगहरू बन्द हुने क्रम बढेको छ ।
लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो एक वर्षमा चार हजार उद्योग–व्यवसाय बन्द भएका छन् ।
लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७९/८० मा लुम्बिनी प्रदेशका चार हजार ५२ उद्योग बन्द भएका छन् ।
जसमा वाणिज्यतर्फ एक हजार नौ सय ३३ र उद्योगतर्फ दुई हजार एक सय १९ रहेका निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले बताए ।
यो अवधिमा सबैभन्दा बढी दाङका आठ सय ७६ उद्योग बन्द भएका छन् भने सबैभन्दा कम रुकुम पूर्व र अर्घाखाँचीका ५२–५२ उद्योग बन्द भएका छन् ।
Visit homepage : eautonepal.com