विद्युतकाे बक्यौता तिर्ने उद्योगको संख्या पुग्यो ११

विद्युतकाे बक्यौता तिर्ने उद्योगको संख्या पुग्यो ११: केही ठुला उद्योगीले डेडिकेटेड फिडर र ट्रंकलाइनबापत प्रयोग गरेको बक्यौता तिर्न आनाकानी गरिरहेको वेला थप तीन उद्योगले बक्यौताको पहिलो किस्ता तिरेका छन् ।

नाम सार्वजनिक नगर्ने सर्तमा बुटवल–भैरहवा क्षेत्रका तीन उद्योगले आइतबार आफ्नो बक्यौताको पहिलो किस्ता तिरेका हुन् ।

पहिलो किस्ता तिरेपछि लाइनसमेत जोडिएको छ । योसँगै विद्युत् बक्यौता तिर्न सुरु गरेका उद्योगको संख्या ११ पुगेको छ ।

पहिलो किस्ता तिरेपछि आइतबार नै बुटवल–भैरहवा क्षेत्रका तीन उद्योगमा लाइन जोडिएको छ ।

प्राधिकरण स्रोतका अनुसार उनीहरूको बक्यौता प्रतिउद्योग पाँचदेखि १० करोड हाराहारीमा छ ।

केही ठुला उद्योगीले अन्य उद्योगीलाई बक्यौता तिरेमा भविष्यमा सहयोग नगर्नेलगायतका चेतावनीसमेत दिएका कारण कतिपय उद्योगीले नाम सार्वजनिक नगर्ने सर्तमा बक्यौता तिरेका छन् ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले ११ उद्योगले किस्तामा बक्यौता तिर्न लागेको जानकारी दिए ।

‘हामीले पछिल्लोपटक ४९ उद्योगलाई बक्यौता तिर्न ताकेता गरेका थियौँ ।

त्यसमा हालसम्म ११ उद्योगले किस्ता तिर्न सुरु गरेका छन् ।

त्यसबाहेक ३८ उद्योगको बक्यौता बाँकी छ,’ उनले भने, ‘त्यसमा अदालतबाट स्टे अर्डर पाएका सात र सरकारी दुईबाहेक बाँकी २९ उद्योगमा लाइन काटिएकै अवस्था छ,’ उनले बताए ।

प्राधिकरणले गत २४ असोजमा एक सार्वजनिक सूचना जारी गर्दै ४९ उद्योगलाई ८ कात्तिकभित्र उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएका थिए ।

बिहीबार रोल्पा सिमेन्ट, सम्राट सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, नेसनल रबर इन्डस्ट्रिज, नारायण रबर उद्योग र एजी हेल्थ इन्डस्ट्रिजले बक्यौताको पहिलो किस्ता तिरेका थिए ।

त्यसपछि अदालतबाट ‘स्टे अर्डर’ पाएका सात र दुई सरकारीबाहेक ३४ उद्योगमा बिहीबार राति नै लाइन काटिएको थियो ।

लाइन काटिएपछि शुक्रबार बुटवल वितरण केन्द्रअन्तर्गत रहेका जिबी टेक्सटाइल– १ र जिबी टेक्सटाइल– २ ले आफ्नो बक्यौताको पहिलो किस्ता बुझाएका थिए ।

रिलायन्स स्पिनिङ मिल्स, अरिहन्त मल्टिफाइबर, अरिहन्त पोली प्याक, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट, शिवम् र रघुपति जुट मिल्स रहेका छन् ।

यस्तै, सरकारी स्वामित्वका दुई उद्योग हटौँडा र उदयपुर सिमेन्ट पनि बक्यौता तिर्ने गरी संवाद छन् ।

गत असारसम्म बक्यौता नतिर्ने उद्योगको संख्या ६१ थियो ।

असोजसम्म आउँदा यशोधा फुड्स, जय दुर्गा प्लास्टिक उद्योग, सोना पोलिमर्स इन्डस्ट्रिज र सोना प्याकेजिङले जरिवानासहितको सबै बक्यौता तिरेका थिए ।

यस्तै, डाबर नेपाल, सूर्य नेपाललगायतका कम्पनी अघिदेखि नै किस्तामा बक्यौता तिर्न आएका छन् ।

असोज २४ सम्म त्यसबाहेक ४९ उद्योगले बक्यौता तिर्न बाँकी थियो ।

अब त्यो संख्या ३८ वटामा सीमित छ । आगामी दिनमा बक्यौता तिर्न आउने उद्योगीको संख्या थप बढ्ने प्राधिकरणको अपेक्षा छ ।

उद्योगहरूलाई लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् दिइएको थियो । त्यसमा ६५ प्रतिशतसम्म प्रिमियम लिने सर्त थिए ।

अधिकांश उद्योग तथा ग्राहकले त्यसवेला नै प्रिमियमसहित महसुल तिर्दै थिए ।

तर, केही उद्योगले भने नियमित शुल्क तिरे पनि प्रिमियम महसुल तिर्न आनाकानी गर्दै आएका छन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *