समयमा सडक बनेन: धरान उपमहानगरपालिका–१५ को निराजन बस्ती हुँदै कन्या पोखरीसम्मको सडक निर्माण सुरु भएको ५ वर्ष नाघ्यो ।
दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखेको यो सडकको काम एक वर्षयता बन्द छ । वर्षाका कारण पहिरो र भेलले सडक भत्किएका कारण गाडी गुड्न सक्ने अवस्था छैन ।
‘दिनैपिच्छे धरान ओहोरदोहोर गर्नुपर्छ, बाटो नबन्दा कतिपटक लडियो,’ खुट्टाको डाम देखाउँदै स्थानीय कान्छा राईले भने, ‘ठेकेदारले काम गरेन, गरेको काम पनि गुणस्तरीय भएन ।’
उनका अनुसार सडक भत्काउने काम छिटो भएपनि बनाउने काम भने रोकिएको छ ।
धरान १५ को निराजनबस्ती हुँदै कन्यापोखरीसम्मको यो सडकको लम्बाइ १६.८७ किलोमिटर छ । यो सडक बने डाँडाबजार र पूर्व क्षेत्रबाट धरान आउने बाटो छोटिनेछ ।
अहिले भेडेटार हुँदै आउनुपर्छ । सडक निर्माण सम्पन्न भए यो बाटो नाम्जो डाँडाबजारसहित भेडेटार पूर्वको पर्यटकीय क्षेत्रको दूरी छोटिन्छ ।
प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको यो सडक भएको स्थानमा पहिले गोरेटो थियो । गोरेटो भत्काएर कालोपत्रे सडक बनाउन सुरु भएपनि काम अघि बढेन, अहिले सडक ठाउँठाउँमा पहिरोले भत्किएको छ ।
‘सडक बनाउँदा बनाउँदै छाडेपछि ठाउँठाउँमा पहिरोले भत्किएको छ,’ स्थानीय अमर राईले भने, ‘सडकले गाउँको स्वरुप नै बिग्रियो ।’
स्थानीय सम्राट क्षेत्रीका अनुसार जथाभावी पहाड खनिएका कारण पहिरो गएको छ । ‘विकासले विनास भएको छ, जथाभावी पहाड खनिएको छ । भएको काम पनि काम नलाग्ने भएको छ’, उनले भने ।
यो सडक निर्माणका लागि २०७६ असोजमा लुम्बिनी गजुरमुखी जेभीसँग सम्झौता भएको थियो । ३९ करोड २३ लाखमा ४१ हजार लागत रहेको सडकको निर्माण सम्पन्न गर्ने अवधि २ वर्षको थियो ।
२०७८ असोज १५ गतेसम्मको समयसीमा पाएको ठेकेदार कम्पनीले ५ वर्ष बितिसक्दा पनि ५९ प्रतिशत मात्रै काम सकेको छ । सडक आयोजना निर्माणका लागि ३ पटक म्याद थप भएको छ ।
पछिल्लो थप भएको म्याद अनुसार निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा २०८२ असार ३० गतेसम्म छ ।
‘यो ठेकेदारले ठेक्का लिएर पेटी ठेकेदार अर्काे कम्पनीलाई काम दियो, त्यो कम्पनीले काम गरेन,’ स्थानीय कान्छा राईले भने, ‘मुख्य ठेकेदार सम्पर्कमै आएनन् ।’
पेटी ठेक्का दिएर ठेकेदार काठमाडौंमा बसेर काम नगरी बस्दा गाउँमा उपभोक्ताले सास्ती खेप्नु परेको उनले बताए ।
तीन पटक म्याद थप भएपनि निर्माण सम्पन्न नभएको यो सडकको अनुगमनका लागि शनिबार कोशी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई ठेकेदार प्रतिनिधिलाई पनि लिएर आयोजना स्थल पुगेका थिए ।
आयोजनास्थलमा स्थानीयको आक्रोश सुनेपछि उनले ठेकेदार प्रतिनिधिलाई सोधे, ‘काम सम्पन्न गर्ने कि सम्झौता रद्द गरौं ?’
आयोजनास्थलमा ठेकेदार प्रतिनिधि सन्तोष गौतमले चाँडै काम सुरु गर्ने जवाफ दिए । त्यसपछि मंसिर १ गतेबाट निर्माण सुरु गर्ने नगरे ठेक्का रद्द गर्ने लिखित सहमति भएको छ ।
Visit homepage : eautonepal.com