बाढीले क्षति पुर्‍याएका शैक्षिक संस्था तत्काल पुनर्निर्माण नहुने

बाढीले क्षति पुर्‍याएका शैक्षिक संस्था तत्काल पुनर्निर्माण नहुने : असोज दोस्रो साता (१०–१२ असोज) आएको बाढीले भत्काएका विद्यालय तथा शैक्षिक संस्था तत्काल पुनर्निर्माण नहुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क्षति पुगेका विद्यालय तथा शैक्षिक संस्था मर्मत एवं पुनर्निर्माण सुरसारै नगरेका कारण विद्यालय खुल्नुअघि बन्ने सम्भावना छैन ।

बाढी–पहिरोले क्षति पुर्‍याएका अधिकांश जिल्लाका सरकारी विद्यालयमा तिहारको भाइटीका (१८ कात्तिक) सम्म बिदा दिइएको छ ।

यस हिसाबले १७ दिनपछि विद्यालय खुल्दा बालबालिकाले जीर्ण र जोखिमयुक्त विद्यालयमै बस्नु पर्नेछ ।

मन्त्रालयले ४ कात्तिकसम्म बाढी–पहिरो प्रभावित स्थानीय तहलाई क्षतिको मर्मत वा पुनर्निर्माणमा लाग्ने लागतसहित विवरण पठाउन निर्देशन दिएको छ ।

त्यसपछि मात्रै स्टिमेट र पुनर्निर्माण योजना बनाउने तयारी मन्त्रालयको छ ।

मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले लागत माग भएअनुसार स्टिमेट तयार गरिने बताए ।

उनले सबै विद्यालयमा पुगेको क्षति तत्काल मर्मत वा पुनर्निर्माण सम्भव नभएको पनि बताए ।

‘बाढीका कारण शैक्षिक संरचनामा ठुलो क्षति पुगेको छ, अहिलेसम्म कतै पनि मर्मत वा पुनर्निर्माण सुरु गरिएको छैन,’ उनले भने, ‘पालिकाहरूलाई ४ कात्तिकसम्म विवरण पठाउन भनेका छौँ ।

त्यसपछि बल्ल मन्त्रालयले पुनर्निर्माण थाल्नेछ ।’

उनका अनुसार पालिकाबाट विवरण प्राप्त भएपछि उनीहरूले नै बनाउन सक्ने, प्रदेश सरकारले बनाउने र केन्द्र सरकारले बनाउनुपर्ने भौतिक संरचनाको टुंगो लाग्नेछ ।

सामान्य क्षति पुगेको विद्यालय पुनर्निर्माण स्थानीय तह आफैँले गर्नेछन् । तर, अधिकांश विद्यालयमा धेरै क्षति पुगेको छ ।

पालिकाले मात्रै पुनर्निर्माण गर्न सक्ने अवस्था नदेखिएकै कारण मन्त्रालयले वर्गीकरण थालेको हो ।

बाढी–पहिरोका कारण शैक्षिक संरचनामा पाँच अर्बभन्दा बढीको क्षति पुगेको मन्त्रालयको प्रारम्भिक आकलन छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *