मन्त्री क्वार्टरको ढल स्थानीयको घरअगाडि सडकमा : कालो सिसा भएका गाडीमा हिँड्ने मन्त्रीहरू बाहिरको दुनियाँसँग कतिसम्म बेपरवाह हुन्छन् भन्ने उदाहरण हेर्न भैँसेपाटीस्थित नवनिर्मित मन्त्री क्वार्टर पुग्दा थाहा हुन्छ ।
चमकधमकसहितको मन्त्री क्वार्टरको ढल सडकमै खुला रूपमा छाडिएको छ ।
क्वार्टरभित्रकै ढल सडकमै बग्दा गनाएर बसिनसक्नु छ । तर, झन्डा फहराउँदै कालो सिसामा हिँड्ने मन्त्रीहरू न ढल देख्छन्, न त बिग्रिएको सडक नै ।
मन्त्री क्वार्टरको दिसापिसाबसहितको ढल सडकमा छाडिएपछि आसपासमा दुर्गन्ध फैलिएको छ ।
घरअगाडि तथा सडकमा क्वार्टरको ढल तथा फोहोर पानी बगेपछि स्थानीय आजित र असन्तुष्ट छन् ।
तर, यी सबै समस्यामा मन्त्रीहरूलाई चासो छैन । राज्यका माथिल्लो तप्काका पदाधिकारी नजिकै सरेपछि सबै कुरा व्यवस्थित हुने अपेक्षा गरेका स्थानीयले उल्टै ढलको दुर्गन्धको सामना गर्नुपरेको छ ।
मुख्यतः मन्त्री क्वार्टरको पश्चिमतर्फको सडकमा समस्या छ । पुरानो ढल तथा नाली जीर्ण बनेपछि मन्त्री क्वार्टरपछाडि पर्ने बस्तीको ढलको निकास रोकिएको छ ।
आफ्नो घर क्षेत्रको ढलको निकास नभइरहेको अवस्थामा फेरि मन्त्री क्वार्टरको ढलसमेत सडकमै बग्न थालेपछि स्थानीय चिन्तित छन् । कतिपय स्थानीयको घरको ढलसमेत सडकमै बगेको छ ।
एकातर्फ अप्ठेरो सडक र त्यसमाथि ढलसहितको पानी बग्दा आवतजावत नै अस्तव्यस्त छ । सडकवरिपरिको ढल पनि व्यवस्थापन भएको छैन ।
उच्च ओहदाका व्यक्तिले आफूहरूको समस्या नजरअन्दाज गरेको स्थानीयको गुनासो छ ।
मन्त्री क्वार्टरनजिकै घर भएका स्थानीयवासी अशोक राईले लामो समयदेखि ढल फुटेर सडकमा आउँदा पनि व्यवस्थापन नभएको बताए ।
‘क्वार्टर नबन्दा बरु ठिकै थियो, बनेपछि ढल नै सडकतिर आउन थाल्यो,’ उनले भने, ‘दिसापिसाबसहितको ढल सडकमा मिसिएको छ । दुर्गन्धले बसिनसक्नु भएको छ ।’
स्थानीय राजेश पन्तको परिवार पनि मन्त्री क्वार्टरबाट निस्किने ढल गनाएर हैरानीमा छ ।
मन्त्रीहरू बस्ने ठाउँमा विकास आउला भन्दा थप समस्या आएको, तर मन्त्रीहरूले अस्तव्यस्त सडक र दुर्गन्ध फैलिएको ढल नदेखेको बताए ।
‘यहाँको खानेपानीको पाइपमा ढल मिसिएको छ, धाराको पानीमा ढल आउन थालेको छ, क्वार्टरभित्र चमकधमक छ, तर बाहिरको समस्या भित्र बस्नेले देखेनन्,’ उनले भने ।
मन्त्री क्वार्टरको पूर्व, उत्तर र दक्षिणतर्फ वाल लगाए पनि पश्चिमतर्फ भने अस्तव्यस्त छ । टहराले मन्त्री क्वार्टर परिसर छुट्याएको छ ।
वरिपरिको ढल निकास छैन । मन्त्री क्वार्टरबाट आउने सबै ढल सडक तथा स्थानीयको घरअगाडि बग्ने गर्छ । जसका कारण दुर्गन्ध फैलिएको स्थानीय बताउँछन् ।
मन्त्री क्वार्टरवरिपरि पर्खाल लगाउने, सडक बनाउने र ढल निकास गरिदिने काम पनि सहरी विकास मन्त्रालयकै हो ।
तर, मन्त्रालयले हतारहतार मन्त्री क्वार्टर तयार पारेर मन्त्रीलाई भैँसेपाटीमा सारे पनि वरिपरिको अस्तव्यस्तता हटाउन सकेको छैन ।
स्थानीय विनोद कुँवरले मन्त्री क्वार्टर भैँसेपाटीमा सरेपछि विकासको अपेक्षा गरेका छन् ।
उनका अनुसार बाहिरको ढल व्यवस्थापन हुन नसकिरहेका वेला क्वार्टरभित्रको ढल पनि सडकमा बगेर डुङडुङ गनाउन थालेको छ ।
वरिपरिका सडक थप खाल्टाखुल्टीमा परिणत भएका छन् । मन्त्री क्वार्टरमा पानी लैजान पाइपलाइन बिछ्याउँदा पुरानो पाइपलाइन बिग्रिएको छ । खानेपानीको ट्यांकी तथा पाइपमा ढल पसेको छ ।
स्थानीय विजया कुँवरले पनि मन्त्री क्वार्टर सरेपछि स्थानीयलाई थप सास्ती र हैरानी भएको बताइन् । ‘मन्त्रीहरू बस्नका लागि बनाइएको क्वार्टर व्यवस्थित छ ।
तर, बाहिर सडकमा ढल छाडिएको छ । मन्त्री आउँदा–जाँदा यहाँका समस्या देख्दैनन्,’ उनले भनिन्, ‘पटक–पटक सडक र ढल व्यवस्थापन गर्न आग्रह गर्दा पनि मन्त्रीज्यूहरूले सुन्नुभएन ।
यो समस्या ललितपुर महानगरलाई पनि भनेका थियौँ । तर, महानगरले पनि यहाँको सडक, खानेपानीको समस्या र ढल व्यवस्थापनमा चासो दिएन ।’
गत वैशाखदेखि मन्त्रीहरू भैँसेपाटीको क्वार्टरमा सरेका थिए । मन्त्रीहरू बस्नका लागि भित्री सबै संरचना व्यवस्थित भए पनि ढल व्यवस्थापन र सडक मर्मतको काम बाँकी छ ।
जिम्मेवार निकाय सहरी विकास मन्त्रालयका सहायक प्रवक्ता चन्द्रकाजी गुरुङ यसबारे मन्त्रालयका पदाधिकारीलाई थाहा नभएको बताए ।
‘यस विषयमा इन्जिनियरलाई थाहा होला । हामीलाई थाहा छैन । सहसचिव तथा सचिवज्यूलाई पनि यो समस्याबारे थाहा छैन,’ उनले भने ।
Visit homepage : www.eautonepal.com