आर्थिक वर्ष ०८०/८१ मा डिजेल प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल ७ रुपैयाँ महँगो

गत वर्षदेखि लागू गरिएको स्वचालित प्रणाली कडाइका साथ कार्यान्वयन भइरहेको छ । आइओसीबाट प्राप्त मूल्यअनुसार नै बढाउने र घटाउने कार्य भइरहेको छ ।

हामीले सकेसम्म उपभोक्तामैत्री भएर मूल्य समायोजन गरिरहेका छौँ ।

नेपाल आयल निगम लिमिटेडले चालू आर्थिक वर्ष ०८०/८१ मा २२ पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

यस अवधिमा पेट्रोलको भाउ ११ पटक वृद्धि गर्दा नौपटक घटाएको छ भने दुईवटा समायोजनको वेला पेट्रोलको भाउ स्थिर राखिएको थियो ।

त्यस्तै, डिजेलको मूल्य १० पटक बढाउँदा ११ पटक घटाइएको छ भने एकपटक स्थिर राखिएको थियो ।

डिजेलको भाउ वृद्धि गरिएको तुलनामा घटाइए पनि गत वर्षको यही समयको भन्दा १४ रुपैयाँ प्रतिलिटर महँगो छ भने पेट्रोल सात रुपैयाँ महँगो भएको छ ।

आयल निगमले गत वर्ष ३१ असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेयता प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।

तर, दुईपटक मूल्य स्थिर राखेका कारण वर्षमा २२ पटक समायोजन भएको हो ।

गत वर्ष पनि ३१ असारमा निगमले मूल्य समायोजन गर्दै पेट्रोल ६ रुपैयाँ, डिजेल तथा मट्टीतेल चार रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य सय रुपैयाँले घटाएको थियो ।

मूल्य घटाएपछि पेट्रोल १६४, डिजेल र मट्टीतेल समान १४६ रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, खाना पकाउने एलपी ग्यास एक हजार ७९० रुपैयाँ थियो भने आन्तरिक हवाई इन्धन १३६ रुपैयाँ र बाह्य हवाई इन्धन १.०३५ डलर प्रतिलिटर थियो ।

चालू आर्थिक वर्ष ०८०/८१ को सुरुमा मूल्य घटेर केही राहत भए पनि त्यसपछि लगातार पाँचपटक निगमले मूल्य बढाएर गत वर्षको दसैँमा महँगीको मार थपेको थियो ।

दसैँ अघि १३ असोजमा स्वचालित प्रणालीको हवाला दिँदै निगमले पेट्रोलमा दुई रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ६ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा आठ रुपैयाँ प्रतिलिटर तथा एलपी ग्यासमा २१५ रुपैयाँ प्रतिसिलिन्डर मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रमुख चाडपर्वको मुखमै चर्को मूल्यवृद्धि भएकोमा चौतर्फी विरोध भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरी मूल्य वृद्धि फिर्ता गराएका थिए ।

त्यसपछि भने निगमले स्वचालित प्रणाली देखाएर मूल्य बढाइरहेको छ । निगमले पेट्रोलमा २.५ रुपैयाँ र डिजेल दुई रुपैयाँ प्रतिलिटर नाफा राखेर मूल्य समायोजन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *