काठमाण्डौंको भृकुटीमण्डपमा मंगलबार देखि सेकेण्डह्याण्ड अटोमोवाइल कार्निभल शुरु भएको छ ।
काठमाण्डौंमा रहेका सेकेण्डह्याण्ड कार तथा मोटरसाइकलका रिकण्डिसन हाउसहरुको सहभागिता रहेको उक्त कार्निभलमा नयाँ कार तथा मोटरसाइकलका कम्पनीहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।
सरल सेलरस क्रेडिट एडभाइजरी प्राइभेट लिमिटेडको आयोजनामा वैशाख ४ देखि ८ गतेसम्म सँचालन हुने उक्त अटो शोमा विभिन्न राइडरहरुले स्टण्ट शो समेत गरेका छन् ।
कार्यक्रमका संयोजक चक्र खड्काका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी ३२ वटा स्टल र ब्लकहरू रहेको उनले जानकारी गराए ।
प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेको छ ।
उक्त अटो शोमा विभिन्न प्रशिद्ध विद्युतीय स्कुटरहरुको समेत स्टल राखिएको छ ।
स्कुटरका ग्राहकहरुले टेस्टराइड गर्ने तथा खरिद गर्नका लागि एक्सचेन्ज तथा फाइनान्सको समेत व्यवस्था मिलाइएको छ ।
उक्त अटो शोमा लुयान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकहरुलाई रु. १५ हजार सम्मको नगद छुट तथा विभिन्न उपहारहरु प्रदान गरिने लुयान नेपालका सेल्स हेड शंकर शर्माले बताए ।
अन्य सहभागी कम्पनीहरुले पनि उक्त शोमा खरिद गर्ने ग्राहकहरुको लागि आकर्षक अफरहरु संचालन गरेका छन् ।
पाँच दिन सम्म चल्ने उक्त मेलालाई ५० हजार जनाले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ ।