कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलको काम पाँच महिनादेखि रोकिएको छ ।
पुल निर्माण कम्पनी पिके श्रेष्ठ–कुमार श्रेष्ठ सिएफइसी जेभीले काम गरेअनुरूप भुक्तानी नपाएको भन्दै पुलको काम रोकेको जनाएको छ ।
पुल निर्माणका लागि तीन अर्ब ६६ करोड पाँच लाख ४६ हजारमा सम्झौता भएको थियो ।
सम्झौताअनुसार मुख्य पुल ७.८ मिलोमिटरको पहुँचमार्ग, चारवटा पोखरी र नदीमा तटबन्द निर्माण गर्नुपर्छ ।
यी सबै निर्माण कार्य ९० प्रतिशतभन्दा बढी निर्माण भइसकेको र तीन अर्ब भुक्तानी लिइसकेको निर्माण व्यवसायी कम्पनीका इन्जिनियर किशोर पाण्डेले बताए ।
तर, गत वर्षसम्मको बक्यौतामध्ये १८ करोड भुक्तानी हुँदा पनि अझै २७ करोड बाँकी रहेकाले २२ असोजदेखि काम रोकिएको उनको भनाइ छ ।
आर्थिक वर्ष ०७४/७५ मा ठेक्का गरेर तीन वर्षभित्रै सम्पन्न गरिसक्नुपर्ने सरकारसँग सम्झौता भएको थियो ।
१५ भदौ ०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेका थिए । २० भदौ ०७७ मा सकिनुपर्ने काम चारपटक म्याद थप गर्दासमेत अझै कहिले सकिन्छ टुंगो छैन ।
आगामी १५ चैत ०८० मा पुल निर्माणको अन्तिम म्याद सकिन्छ । तर, फागुनको अन्तिम सातासम्म पनि पुलको काम सुरु हुन सकेको छैन ।
मूल पुल आठ सय मिटर निर्माण भने सम्पन्न भएको छ । भारतसँग जोडिएका दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमध्ये महाकाली नदीमा निर्माण भइरहेको उक्त पक्की पुल पहिलो हो ।
महाकाली नदीमा चार लेनका पक्की पुल छैनन् । पुल निर्माण पूरा नहुँदा दोधारा–चाँदनी सुक्खा बन्दरगाहदेखि भारतको राजधानी दिल्लीलगायतका स्थानमा सहजै पहुँचमार्गको काम रोकिएको छ ।
महाकाली पुल योजना कार्यालयले बजेट अभाव, अतिरिक्त थपिएको काम स्वीकृत नहुँदा र नदी नियन्त्रणको संशोधित योजना स्वीकृत नहुँदा निर्माण कम्पनीले काम रोकेको जनाएको छ ।
महाकाली पुल आयोजना कार्यालय कञ्चनपुरका सहायक सूचना अधिकारी सब–इन्जिनियर दुर्गादत्त अवस्थीले निर्माण कम्पनीले गरेको कामअनुरूप बजेट भुक्तानी गर्न नसक्दा, अतिरिक्त योजना र तटबन्धनको संशोधित योजना मन्त्रालयबाट स्वीकृत नहुँदा काम रोकिएको बताए ।
उनका अनुसार पोखरी, तटबन्ध पहुँचमार्ग निर्माण अझै बाँकी रहेका छन् ।
पुलको दुवैतर्फ २६ सय मिटर लामो पोखरी बनाउन दुई सय ५० किलोका ठूला परिमाणका ढुंगा राख्नुपर्ने सुरुवाती डिजाइन छ ।
तर, स्थानीय पालिकाले चुरेबाट ढुंगा दिन नमान्दा विकल्पका रूपमा सिमेन्ट तथा साना परिमाणका ढुंगा राख्नका लागि डिजाइन परिवर्तन गरिएको छ ।
त्यस्तै, पुलको पूर्व–पश्चिम र गड्डाचौकीमा सडक कालोपत्रे गर्न बाँकी रहेको उनले बताए ।
उनका अनुसार दोधारा–चाँदनी सुक्खा बन्दरगाहको जिरो प्वाइन्टदेखि पुल हुँदै गड्डाचौकी पूर्व–पश्चिम महेन्द्र राजमार्गसम्म झन्डै ७.८ किलोमिटर पहुँचमार्गको कालोपत्रे गर्नुपर्ने काम पनि अधुरै छ ।
‘गड्डाचौकी पुलको पश्चिम–पूर्वतर्फ कालोपत्रे गर्न बाँकी छ, ‘उनले भने, ‘पुलसँगै सडकको काम पनि रोकिएको छ ।’
सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख ललिजन खनालले बजेट अभावकै कारण भुक्तानी गर्न नसकेको स्वीकार गरे ।
साथै, पुलको डिजाइन संशोधन हुन लागेका कारण प्रक्रियागत रूपमा ढिलाइ भएको उनको भनाइ छ । ‘यद्यपि, डिजाइन परिवर्तनसँग भुक्तानीको प्रत्यक्ष सम्बन्ध छैन ।
अहिले बजेट अभावकै कारण भुक्तानी गर्न नसकिएको हो । यो मात्रै होइन, अन्य ठेक्का तथा आयोजनाको पनि भुक्तानी गर्न सकिएको छैन,’ उनले भने, ‘अर्थ मन्त्रालयबाट बजेट निकासा नभएसम्म भुक्तानी गर्न सक्ने अवस्था छैन ।
अर्थ मन्त्रालयमा बजेट निकासाका लागि पत्राचार गरिसकेका छौँ । तर, अहिलेसम्म बजेट निकासा भएको छैन । बजेट निकासा भएको एक हप्तामा सम्बन्धित कम्पनीको बक्यौता भुक्तानी हुन्छ ।’
विभागका महानिर्देशक सुशीलबाबु ढकालले यो समस्या छिट्टै समाधान हुने बताए । ‘सार्वजनिक बिदाकै दिन भए पनि शनिबार नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग यसबारे छलफल गरेका छौँ ।
उहाँले यो समस्या समाधान गर्ने विषयलाई एकदमै प्राथमिकतामा राख्नुभएको छ,’ उनले भने, ‘यो समस्या छिट्टै समाधान हुन्छ भन्नेमा आशावादी छौँ ।
अर्थ मन्त्रालयबाट बजेट निकासा हुनासाथ निर्माण कम्पनीको बक्यौता भुक्तानी हुन्छ ।’