दुवै जिल्लामा राजमार्ग निर्माणको काम सुस्त छ । कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी राजमार्ग निर्माणको काम सात वर्षदेखि पूरा भएको छैन ।
हालसम्म साढे ३७ किलोमिटर मात्र कालोपत्रे भएको इन्जिनियर कठायतले जानकारी दिए । तीनवटा खण्डमध्ये कुनै पनि खण्डको काम पूर्ण रूपमा सम्पन्न भएको छैन ।
पहिलो खण्डमा राजमार्ग कालोपत्रे गरिए पनि शाखा सडकखण्ड कालोपत्रे गर्ने, ट्राफिक संकेत राख्नेलगायत काम अधुरै छन् ।
राजमार्गसँग जोडिएका शाखा सडक २० मिटरसम्म कालोपत्रे गर्ने स्टिमेट छ ।
दोस्रो खण्डको २० किलोमिटरमध्ये साढे नौ किलोमिटर र तेस्रो खण्डको साढे २२ किलोमिटरमध्ये साढे आठ किलोमिटर कालोपत्रे भएको आयोजना कार्यालयले जनाएको छ ।
एक अर्ब १६ करोड लागत रहेको कञ्चनपुरको समग्र भौतिक प्रगति ७१ प्रतिशत रहेको इन्जिनियर कठायतले बताए ।
निर्धारितभन्दा दोब्बर बढी समय बित्दा पनि काम सम्पन्न नगरेका निर्माण कम्पनीले छैटौँपटक म्याद थपका लागि निवेदन दिएका छन् । तीनवटै खण्डको म्याद गत असारमा सकिएको छ ।