रामेछापमा पाँच हजार सवारी कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सात महिनाको अवधिमा ४५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ।

ट्राफिक प्रहरीले चालू आर्थिक वर्ष ०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा  कारबाहीमा परेका चार हजार नाै सय ८५ साना तथा ठूला सवारीसाधनबाट ४५ लाख ६३ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको हो।

साउनामा तीन सय ८५ सवारीसाधन कारबाहीबाट तीन लाख ७१ हजार पाँच सय रुपैयाँ, भदौमा पाँच सय ५० सवारी कारबाहीबाट पाँच लाख ६ हजार पाँच सय रुपैयाँ र असोज महिनामा सात सय ५० वटा सवारी कारबाहीबाट सात लाख नाै हजार रुपैयाँ राजस्व संकलन भएको छ।

यसैगरी, कात्तिकमा एक हजार ५० सवारी कारबाहीबाट १० लाख १६ हजार पाँच सय रुपैयाँ, मंसिरमा सात सय सवारी कारबाहीबाट ६ लाख ४५ हजार पाँच सय रुपैयाँ, पुसमा आठ सय सवारी कारबाहीबाट ६ लाख ८९ हजार पाँच सय रुपैयाँ र माघमा सात सय ५० सवारी कारबाहीबाट ६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईंले जानकारी दिए।

चेकजाँच गर्ने क्रममा चालक अनुमतिपत्र नभएका, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएका, सिल्ट बेल्ड नबाँधेका, कागजपत्र नबोकी सवारीसाधन चलाएका, क्षमताभन्दा बढी यात्रु बोकेका र यात्रुसँग तोकिएभन्दा बढी भाडा असुलेका यातायात साधनका चालकबाट उक्त राजस्व संकलन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *