उनले नेपालको विषम परिस्थितिमा सरकारले गर्न नसकेको काम पनि एनआरएनएले गरेको दाबी गरे। एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधान राईले विदेशमा बस्ने नेपालीले देशप्रतिको मायाका कारण विभिन्न सामाजिक काममा साथ दिँदै आएको बताइन्।
मुख्यमन्त्री केदार कार्कीले एनआरएनएका पदाधिकारीहरूलाई कोशी प्रदेशको विकास र समृद्धिका लागि हातेमालो गरी अगाडि बढ्न आग्रह गरे।
उनले ब्लड संकलन बसले कोशी प्रदेशका जनताको उपचारलाई सहज पुर्याउने विश्वास व्यक्त गरेका छन्।
सुनसरी रेडक्रसले कोशी प्रदेशका विभिन्न जिल्लामा गएर रगत संकलन गर्दै आएको छ।
रेडक्रस सुनसरीका सभापति उमेश थापाले ब्लड संकलन बसले कोशी प्रदेशका बिरामीलाई रगत संकलन गरी थप सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, एनआरएनएले जनकपुरधाम उपमहानगरपालिकाको माध्यमबाट नेपाल रेडक्रस सोसाइटी धनुषालाई आधुनिक प्रविधियुक्त रक्त संकलन बस हस्तान्तरण गरेको छ।
रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन संघले मधेस प्रदेशका लागि ‘रक्त संकलन मोबाइल बस’ ल्याएको हो।
रगतको माग दिनप्रतिदिन बढ्दै जाँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले रगत व्यवस्थापनमा सघाउने उद्देश्यका साथ उक्त बस ल्याइएको एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतले बताए।
उक्त बसभित्रै राखिएका विशेष सिटमा बसेर रक्तदान गर्न सकिन्छ। बाहिर रक्तदान गर्नुपर्ने अवस्थामा बसमै अट्याच भएको पाल टाँगेर पनि रक्तदान गर्न सकिन्छ।
त्यसका लागि अतिरिक्त सिट राखिएको छ। उक्त प्रत्येक बस ७० लाख रुपैयाँमा खरिद गरिएको राउतले जानकारी दिए।
बसमा बसेर एकै पटकमा पाँचजनाले रक्तदान गर्न सक्ने उनले बताए।
त्यस्तै रगत चिस्याउने, रगत झिक्ने र स्वास्थ्यकर्मी बस्ने व्यवस्था बसभित्रै छ।
रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न यो बस निकै उपयोगी हुने छ।
उक्त बसको सहयोगबाट प्रतिकूल मौसममा समेत रगत संकलन गर्न सहज हुने छ।
बस हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले रगतको माग दिनहुँ बढिरहेका बेला एनआरएनएले गरेको कार्य निकै सराहनीय रहेको बताए।
उनले मधेसवासीका निम्ति रगतको व्यवस्थापनमा यो कोसेढुंगा सावित हुने उल्लेख गरे।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बसबाट रेडक्रस र बिरामीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे।
उनले रक्त संकलन मोबाइल बसलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्ने बताए ।
दुवै कार्यक्रममा एनआरएनएका विभिन्न पदाधिकारी, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरू, रेडक्रसका पदाधिकारीलगायतको सहभागिता थियो।