संखुवासभाको कच्ची सडकमा सवारी भाडादर तोकियो

पूर्वी पहाडी जिल्ला संखुवासभाको कच्ची सडकमा सञ्चालित सवारीसाधनको भाडादर पुनरावलोकन गरिएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्रका विभिन्न कच्ची सडकमा सवारीसाधनको भाडा पुनरावलोकन गरी तोकेको हो।

कच्ची सडकमा सञ्चालित सवारीसाधनहरूले मनपरी ढंगले यात्रुसँग रकम असुल्ने गरेको, यात्रुमैत्री व्यवहार नभएकोजस्ता गुनासो आएपछि जिल्ला यातायात संघसहितको सर्वदलीय सर्वपक्षीय बैठकले माघ ६ देखि आगामी जेठ मसान्तसम्म कायम हुने गरी भाडादर पुनरावलोकन गरेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए।

संखुवासभा हिमाली पहाडी जिल्ला भएकाले बर्खाको समयमा बेग्लै बैठक बसी त्यति वेला नै भाडादर कायम गरिने उनको भनाइ छ।

बैठकले जिल्ला सदरमुकाम खाँदबारीदेखि छुट्ने १३ वटा गन्तव्यलाई दुई वर्गमा विभाजन गरी भाडादर पुनरावलोकन गरेको छ।

जसमा ‘अति अप्ठ्यारो कच्ची सडक’ प्रतिकिमि २० रुपैयाँँ र ‘अप्ठ्यारो कच्ची सडक’को प्रतिकिमि १५ रुपैयाँँ तोकीएको छ।

खाँदबारी–सभापोखरी ५ सय रुपैयाँँ, खाँदबारी—धुपू ३ सय रुपैयाँँ, खाँदबारी—हेलुवाबेँसी ५ सय रुपैयाँ, खाँदबारी–बरुण १ हजार ५ सय रुपैयाँ, खाँदबारी–गोला १ हजार ५ सय रुपैयाँ, खाँदबारी–वाना ५ सय रुपैयाँ, खाँदबारी–खेवाटार ५ सय रुपैयाँ, खाँदबारी–नुम ८ सय रुपैयाँ, खाँदबारी–केराबारी ७ सय रुपैयाँ, खाँदबारी–चिचिला ४ सय ५० रुपैयाँ, खाँदबारी–पांठा ३ सय रुपैयाँ, खाँदबारी—स्याबुन ५ सय रुपैयाँ र खाँदबारी–लिङलिङ ४ सय ५० रुपैयाँ तोकिएको छ।

सदरमुकाम खाँदबारीमा सञ्चालित टेम्पोहरूको भाडा भने खाँदबारी नगरपालिकाको समन्वयमा पुनरावलोकन गर्ने निर्णय भएको छ।

बैठकले यातायात संघमा आबद्ध संस्थाहरूलाई गाडी काउन्टरमा स्पष्ट रूपमा भाडादर राख्न, यात्रुमैत्री व्यवहार गर्न, सवारीचालक र सवारीधनीलाई ट्राफिक शिक्षा दिन, सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारीचालक अनुमतिपत्र र ब्लुबुक अनिवार्य बोक्न, मादकपदार्थ सेवन गरी गाडी नचलाउन, सवारीसाधनको मर्मत र चेकजाँच गरिरहन तथा निश्चित पार्किङ क्षेत्रमा मात्रै यात्रु ओराल्ने र चढाउने गर्न निर्देशन समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *