सर्वोच्चले खोल्यो हेटौंडा बजारमा सडक विस्तारको बाटो

मकवानपुरको हेटौंडा बजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सर्वोच्च अदालतले बाटो खोलिदिएको छ ।

सडक विभागले राजमार्ग विस्तारको तयारी गरिरहेका बेला स्थानीयले त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सडक डिभिजन कार्यालय हेटौंडाले २५ मिटर सडक विस्तारको लागि सूचना जारी गरेपछि परेको रिट सर्वोच्च अदालतले मंगलवार खारेज गरिदिएपछि सडक विस्तारको बाटो खुलेको हो ।

सीता कार्की, मनिष श्रेष्ठ, विजयलाल जोशी, सिता ढकालसहित २३ जनाले दिएको रिट सर्वोच्च अदालतको न्यायाधीशहरु साराङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले खारेज गरेको हो ।

सडक डिभिजन कार्यायलयले अन्तिम पटक १० असारमा ३५ दिने सूचना निकालेर दायाँबायाँ २५ मिटर सडक खाली गर्न भनेको थियो, त्यसका विरुद्ध २८ वटा रिट परेको थियो ।

‘हाम्रो सूचनाको विरुद्धमा परेको अधिकांश रिट आज सर्वोच्चले खारेजी गरिदिएको छ । छिटपुट केही रिट बाँकी छन्, तिनीहरु पनि सोहि प्रकृतिका हुन् ।

हामीले काम सुरु गर्ने मुख्य स्थानहरुमा अब रोकिने कानुनी जटिलता हटेको छ,’ डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले अनलाइनखबरसँग भने ।

पटकपटक सूचना निकाल्दा पनि रिट पर्दै रोकिँदै गरेकोमा सडक विस्तारको कामले अब तीव्रता पाउने उनले बताए ।

पछिल्लो समय गत बैशाखमा हेटौंडा उपमहानगरपालिकाले सर्वपक्षीय निर्णय गरेर सडक विस्तारको काम अघि बढाउन डिभिजन सडक कार्यालयलाई अनुरोध गरेको थियो ।

सडक क्षेत्रमा भएका घरधनीले अदालतमा रिट दिएपछि काम रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *