लगातार दुई दिनदेखि परेको वर्षाले पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। बाढी र पहिरोका कारण तमोर करिडोरसहित पाँचथर र इलामका विभिन्न सडक अवरुद्ध भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार धनकुटा–पाँचथर सीमामा रहेको नावा खोलामा आएको बाढीले पानीको बहाव अत्यधिक बढेपछि तमोर करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।
तमोर करिडोरले धरान, मुलघाट, पाँचथर र ताप्लेजुङलाई जोड्ने मुख्य सडक भएकाले सडक बन्द हुँदा यात्रु तथा मालवाहक सवारी बीच बाटोमै रोकिएका छन्। पानीको बहाव उच्च रहेकाले जोखिमपूर्ण यात्रा नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
यस्तै, बाढी र पहिरोका कारण पाँचथर सदरमुकाम फिदिमलाई गाउँपालिका तथा ग्रामीण बजारसँग जोड्ने अधिकांश सडकसमेत अवरुद्ध भएका छन्। मुवा खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा फिदिम–फालौट सडक सञ्चालन हुन सकेको छैन। मध्यपहाडी राजमार्गअन्तर्गत थर्पु–च्याङथापु सडक खण्ड पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
उता, निरन्तरको वर्षाले मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा सडक थप भासिएपछि यातायात सेवा ठप्प भएको छ। लगातारको झरीका कारण ग्रामीण सडकहरूमा समेत आवागमन प्रभावित बनेको छ।
मौसममा तत्काल सुधारको संकेत नदेखिएकाले स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न नागरिकलाई अनुरोध गरेको छ।