मोेटरसाईकलको मेकानिक कसरी बन्ने ?

एभरेष्ट मोटरसाईकल वर्कशप, बालाजुका हेड मेकानिक विष्णु अग्रवाल आफ्नै दाईको वर्कशपमा ६ बर्ष जति काम गर्दै मेकानिक सिकेका हुन् । अहिले बालाजुमा आफ्नै वर्कशप चलाएर बसेका छन् ।

शुरुमा हेल्परको रुपमा काम गर्दै सिकेका विष्णु अहिले आफ्नै वर्कशपमा मोटरसाईकल वा स्कुटरको जस्तोसुकै समस्याको समाधान गरिरहेका छन् ।

सामान्य समस्या देखि ईन्जिन खोल्ने र फिट गर्ने काम सजिलै गर्छन् ।
त्यस्तै टेकुमा रहेको न्यु हाईटेक अटो सेन्टरका मेकानिक राम महर्जन पनि आफ्नै बुवाको वर्कशपमा काम गर्दै सिक्दै गरेको बताउँछन् ।

शुरुशुरुमा मोटरसाईकल धुने, विभिन्न औजारहरुको ज्ञान लिने काम गर्दागर्दै अहिले जटिल समस्याको काम समेत गर्न सक्ने भैसकेका छन् ।

करिब १० बर्षको अनुभव भएका मेकानिक रामले आजभोली मासिक ८-१० वटा मोटरसाईकल तथा स्कुटरको ईन्जिनको काम गरिरहेको बताउँछन् ।

ओम बाईक वर्कशप, बुढानिलकण्ठका मेकानिक संदिप शाहले भने आफ्नो आफन्तीको वर्कशप नभएकाले अरु कै वर्कशपमा सिकेको बताउँछन् ।

रौतहट स्थायी घर भएका संदिपले शुरुमा गाउँकै वर्कशपमा सिकेका हुन् ।

त्यसपछि कहिले काठमाण्डौं त कहिले पोखरा काम गर्दै अहिले काठमाण्डौंको बुढानिलकण्ठमा आफ्नै वर्कशप चलाएर बसेका छन् ।

विभिन्न मोटरसाईकल तथा स्कुटरका आधिकारिक डिलरले पनि प्रायजसो मेकानिकहरुलाई हेल्परबाट काम सिकाउँदै हेड मेकानिक सम्म बनाएर आफ्नो सर्भिस सेन्टर चलाउने गरेको महाराजगञ्ज स्थित बजाज सर्भिस सेन्टरका वर्कशप सुपरभाईजर मनोज घिमिरे बताउँछन् ।

सुपरभाईजर मनोजका अनुसार अहिले उक्त सर्भिस सेन्टरमा २ जना सिनियर र ३ जना जुनियर मेकानिक छन् ।

अहिले भएका जुनियर मेकानिक नै काम सिक्दै पछि सिनियर मेकानिकमा पदोन्नती हुने उनी बताउँछन् ।

सरकारी स्तरबाट पनि समय समयमा वेसिक लेबलदेखि डिप्लोमा लेबल सम्मका तालिम तथा पढाई भईरहेको सिटिईभिटीका तालिम महाशाखा निर्देशक मिस्टरकान्त अर्यालले बताए ।

सिटिईभिटीका विभिन्न आंगिक शिक्षालय, साझेदारी तालिम प्रदायक सँस्था, नीजि तथा सामुदायिक विद्यालयहरुसँग समन्वय गरी तालिम तथा अध्यापन गराईरहेको निर्देशक मैनालीले बताए ।

अहिले पनि बालाजु, बुटवल, नेपालगञ्ज, लाहान लगायतका ठाउँहरुमा तालिम सँचालन भईरहेको बताउँदै निर्देशक मैनालीले उद्योगमा आधारित डिप्लोमा, प्रिडिप्लोमा सहित लेबल १ तथा लेबल २ का मेकानिकल तालिम सँचालन भईरहेको बताए ।

युवाहरुलाई रोजगार प्राप्त गर्न तथा स्वरोजगार बन्नका लागि मेकानिकल पेशा निक्कै राम्रो देखिएको छ ।

बजारमा मेकानिकको माग पनि रामै्र रहेको पाईन्छ ।
वैदेशिक रोजगारका लागि मात्र ध्यान दिने परम्परा भएको नेपालको लागि मोटरसाईकलको मेकानिकल पेशा त्यसको उत्तम विकल्प हुन सक्छ ।

शुरुमा अरुको वर्कशपमा काम सिक्दा सामान्य खोजीखर्च मात्र पाईने र पछि विस्तारै ४-५ हजार हुँदै हेड मेकानिक हुँदा लगभग २०-२५ हजार सम्म महिनाको तलवमा मेकानिकहरुले काम गरिरहेका हुन्छन् ।

सामान्य वर्कशप खोल्नको लागि केहि औजार र पार्ट्सहरु किन्नको लागि २-३ लाख जति लगानीमा मै खोल्न सकिने भएर पनि प्रायजसो मेकानिकहरुले आफैले वर्कशप खोलेर चलाईरहेको पाईन्छ ।

अलि राम्रो वर्कशप बनाउनको लागि हाईडोलिक र्याम, आधुनिक औजार तथा प्रशस्त पार्ट्स राख्नको लागि करिब १०-१२ लाख जति लगानी भए पुग्ने गर्दछ ।

हाल स्थानीय वित्तिय सँस्थाहरुले वचतको आधारमा केहि रकम कर्जा दिने गरेको भएता पनि धितो राखेर विभिन्न बैंक तथा वित्तिय सँस्थाहरुबाट ठुला कर्जा समेत पाईन्छ ।

तरपनि सरकारको खासै ध्यान पुगिनसकेको यो व्यवसायको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम तथा नीति बनाउनुपर्ने आवश्यकता भने देखिएको छ ।

-Shankar Sharma@AutoNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *