चीनमा ईभीको दबदबा, टप–५ मा नेपालमा बिक्री हुने ३ कार

काठमाडौं । नेपाली बजारमा बिक्री हुँदै आएका तीन फरक ब्रान्डका विद्युतीय कार चीनमा अगस्ट महिनामा सर्वाधिक बिक्री हुने कारको सूचीमा पर्न सफल भएका छन् ।

नेपालमा प्रोटोन ईमास ५ नामले बिक्री हुँदै आएको जिली ईएक्स २ चीनको सर्वाधिक बिक्री हुने कारको सूचीमा पहिलो स्थानमा परेको छ । त्यस्तै, नेपालमा बीवाईडी बी०३एक्स नामले बिक्री हुँदै आएको लिपमोटर ए१० दोस्रो स्थानमा रहँदा बीवाईडी एट्टो २ पाँचौँ स्थानमा परेको छ ।

चीनको यात्रुवाहक कार बजारमा अगस्ट महिनामा विद्युतीय गाडीको दबदबा देखिएको छ । सार्वजनिक बिक्री तथ्यांकअनुसार चीनमा सर्वाधिक बिक्री हुने शीर्ष १० कारमध्ये नौ वटा पूर्ण रूपमा ब्याट्रीबाट चल्ने विद्युतीय मोडल रहेका छन् । पेट्रोल तथा डिजेलबाट चल्ने परम्परागत कार भने शीर्ष १० बाट बाहिरिएका छन् ।

शीर्ष सूचीमा बीवाईडीको फाङ चेङ बाओ टी७ भने ब्याट्री इलेक्ट्रिक र प्लग–इन हाइब्रिड दुवै विकल्पमा उपलब्ध एकमात्र मोडल बनेको छ । यसको कुल बिक्रीमध्ये ५५ प्रतिशत हिस्सा ब्याट्री इलेक्ट्रिक संस्करणको रहेको बताइएको छ ।

चालू वर्षमा शीर्ष १० सर्वाधिक बिक्री हुने कारको सूचीबाट इन्धनबाट चल्ने कार पूर्ण रूपमा बाहिरिएको यो दोस्रो पटक हो । अगस्टमा पहिलो इन्धन कारका रूपमा टोयोटा कोरोला १३औँ स्थानमा परेको छ । उक्त मोडलको अगस्ट बिक्री १४ हजार ६७५ युनिट रहेको छ ।

मोडलगत बिक्रीमा जिलीको सानो ह्याचब्याक ईएक्स २ ले ३९ हजार ६५१ युनिट बिक्री गर्दै पहिलो स्थान हासिल गरेको छ । यो मोडल सन् २०२६ को जनवरीदेखि अगस्टसम्मको समग्र बिक्रीमा समेत शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, लिपमोटर ए१० दोस्रो र टेस्ला मोडल वाई तेस्रो स्थानमा रहेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डमध्ये टेस्लाका दुई मोडल शीर्ष १० मा परेका छन् । मोडल वाई तेस्रो स्थानमा रहँदा मोडल ३ छैटौँ स्थानमा रहेको छ ।

यसअघि चौथो स्थानमा रहेको साओमीको एसयू७ भने अगस्टमा १०औँ स्थानमा झरेको छ । चीनमा सेडानको तुलनामा एसयूभीप्रतिको आकर्षण बढी रहेकाले एसयूभी मोडलहरूको बिक्रीमा समेत वृद्धि देखिएको छ ।

शीर्ष २० मा भने टोयोटा कोरोला क्रस, जिली स्टारे, फक्सवागन लाभिडा, टोयोटा आरएभी४ र जिली मोन्जारो लगायतका इन्धन तथा हाइब्रिड मोडलले पनि स्थान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *