काठमाडौं । पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्ड मानिने हेटौंडा–नारायणगढ सडकलाई विस्तार तथा स्तरोन्नति गर्ने प्रक्रिया सुरु भएको छ । करिब ७० किलोमिटर लामो उक्त सडकको निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिएको हो ।
सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी)ले पथलैया–हेटौंडा–नारायणगढको कुल १०० किलोमिटर सडकलाई चरणबद्ध रूपमा स्तरोन्नति गर्ने योजनाअनुसार पहिलो चरणमा हेटौंडा–नारायणगढ खण्डलाई अघि बढाएको हो ।
एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा सञ्चालन भइरहेको ‘साउथ एसिया सबडिजिनल इकोनोमिक कोअपरेसन हाइवे इम्प्रुभमेन्ट एण्ड इकोसिस्टम रेस्टोरेसन प्रोजेक्ट’मार्फत यो सडकको स्तरोन्नति गर्न लागिएको हो ।
पहिलो चरणमा पर्ने ६९.९२ किलोमिटर सडकलाई तीनवटा प्याकेजमा विभाजन गरेर निर्माण ठेक्का निकालिएको छ । पहिलो प्याकेजमा चेनिज ३९७+४०० देखि ४३७+३२० सम्मको ३९.९२ किलोमिटर सडक समावेश गरिएको छ । यो पथलैया–लोथर–हेटौंडा–नारायणगढ खण्डमा पर्छ ।
त्यसैगरी, दोस्रो प्याकेजमा चेनिज ४३७+३२० देखि ४६३+५०० सम्मको २६.१८ किलोमिटर र तेस्रो प्याकेजमा चेनिज ४६३+५०० देखि ४६७+३२० सम्मको ३.८२ किलोमिटर सडक रहनेछ ।
अहिले दुई लेनमा सञ्चालनमा रहेको सडकलाई विस्तार गरी न्यूनतम चार लेनको बनाउने योजना छ । आयोजनाले तयार पारेको डिजाइनअनुसार सडकको अधिकतम चौडाइ ५० मिटरसम्म पुग्नेछ । हेटौंडा बजार क्षेत्रमा भने करिब ४५.८ मिटर चौडाइ कायम गरिनेछ ।
सडकको स्वरूप क्षेत्रअनुसार फरक हुने गरी डिजाइन गरिएको छ । अर्धसहरी क्षेत्रमा ३७.४ मिटर तथा ग्रामीण र वन क्षेत्रमा २४ मिटर चौडाइ रहनेछ । सहरी क्षेत्रमा सर्भिस लेनसहित आठ लेन, अर्धसहरी क्षेत्रमा छ लेन र ग्रामीण तथा वन क्षेत्रमा चार लेनको व्यवस्था गरिनेछ ।
आयोजना निर्देशनालयका अनुसार इच्छुक निर्माण कम्पनीले असोज २६ गतेसम्म बोलपत्र बुझाउन सक्नेछन् । कम्पनीहरूले एउटा मात्र प्याकेज वा एकभन्दा बढी तथा सबै प्याकेजमा समेत आवेदन दिन पाउनेछन् ।
प्राप्त बोलपत्र असोज २६ गते दिउँसो १ बजे खोलिनेछ ।