यात्रु सधैँ जोखिममा

बाग्लुङको दक्षिण जोड्ने पहिलो सडकको रूपमा रहेको मालढुंगा–कुश्मिसेरा सडकखण्डमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

सडक यति जोखिमपूर्ण छ कि पहिरोको कारण करिब एक महिनासम्म अवरुद्ध भएको सडक केही दिनअघि मात्रै एकतर्फी सञ्चालन गरिएको थियो ।

बाग्लुङ नगरपालिका– १० भकुण्डे दब्लाङमा गएको ठूलो पहिरोका कारण सो सडक एक महिनासम्म रोकिएको थियो ।

सो सडकखण्डले विगत तीन वर्षदेखि बर्खायाममा सधैँ दुःख दिने गरेको छ ।

बाग्लुङ नगरपालिका– १२ का भीमबहादुर पाठक ‘रामु’, र ज्ञानेन्द्र ढकालको नेतृत्वमा बानपा– १ का यादव शर्मा र बलेवा क्षेत्रका स्थानीयको सहयोगमा सडक सञ्चालन गरिएको थियो ।

गत असारबाट बारम्बार अवरोध हुँदै आएको सडक साउनको पहिलो सातादेखि पूर्ण रूपमा ठप्प थियो ।

एउटै पहिरोले तीन ठाउँमा अवरोध पर्दा सडक सञ्चालन हुन सकेको थिएन ।

लगातार अवरुद्ध हुने सो सडकको स्तरोन्नतिमा बाग्लुङ नगरपालिकाले चासो नदिएको स्थानीयले आरोप लगाउने गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले लगातार वर्षा हुने समयमा सडकको पहिरो हटाउन कठिन हुँदा लामो समयसम्म सडक रोकिन पुगेको बताए ।

पानी रोकिएपछि डोजर पठाएर पहिरो पन्छाउने तयारी हुँदै गर्दा स्थानीयले सडक सञ्चालन गराए भन्ने सुनेकाले आफूहरू रोकिएको उनको दाबी थियो ।

लामो समयदेखि अवरुद्ध सडकको पहिरो हटाउन नगरपालिकाले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटेका थिए ।

पाठकले करिब आठ घन्टामा तीस हजार रुपैयाँ खर्च गरेर सडक सञ्चालन गरिएको जानकारी दिए ।

सडक खुलेसँगै बाग्लुङको दक्षिण भेगका जनताले केही राहत पाएका छन् । तर, उनीहरू अत्यन्त जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

कालिगण्डकी करिडोर सडकखण्ड वैकल्पिक मार्गको रूपमा रहे पनि सडक निकै जीर्ण छ ।

सो सडक भएर जिल्लाको दक्षिण जैमिनी, बरेङ बलेवा क्षेत्र र भकुण्डेवासीले यात्रा गर्नुपर्छ । उनीहरू जहिल्यै जोखिममा हुने गरेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *