हाम्स ग्रुपअन्तर्गतको हाइली एड्भान्स मोटर्सले विश्वप्रसिद्ध चिनियाँ दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड क्यूजे मोटरका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपालमा सार्वजनिक गरिएका चार मोडलमध्ये २४९ सीसी इन्जिन र दोहोरो डिस्क ब्रेकयुक्त एसआरभी २५० एसको मूल्य ९ लाख ७९ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, १७५ सीसी इन्जिन र एबीएस सुविधासहितको एसआरके १८० एसको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ।
यसैगरी, १२५ सीसीको तरल पदार्थबाट चिस्याइने इन्जिन तथा टीएफटी प्रदर्शन पटलयुक्त एसआरके १२५ एसको मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ र चोरीबाट सुरक्षा प्रणाली तथा चाबी बिनै इन्जिन सुरु गर्न सकिने सुविधा भएको आरकेओ १२५ पीको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी मूल्य प्रारम्भिक बजार प्रवेश तथा दशैंको विशेष अवसरमा उपलब्ध गराइएको सहुलियत मूल्य हो।
ब्रान्ड सार्वजनिकसँगै कम्पनीले ग्राहकका लागि विभिन्न छुट तथा उपहार योजना पनि ल्याएको छ।
योजनाअन्तर्गत छनोट गरिएका मोडलमा २० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध हुनेछ।
त्यस्तै, पाँच जना ग्राहकले १० हजार रुपैयाँसम्म मूल्य पर्ने स्मार्ट घडी र तीन जना भाग्यशाली विजेताले एक लाख रुपैयाँसम्मको शैक्षिक छात्रवृत्ति प्राप्त गर्ने कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिले गिली, बेनेली र हार्ले–डेभिडसनजस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग सम्बन्धित मोटरसाइकल उद्योगको अनुभव नेपाली बजारमा भित्र्याउन पाउनु गौरवको विषय भएको बताए।
स्वास्थ्य, व्यापार, शिक्षा तथा कृषि क्षेत्रमा समेत लगानी गर्दै आएको हाम्स ग्रुपले व्यावसायिक सवारीसाधनको क्षेत्रमा प्राप्त अनुभवका आधारमा अब क्यूजे मोटरमार्फत दुईपाङ्ग्रे सवारीसाधन बजारमा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।
कम्पनीले नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सन् १९८५ मा स्थापना भएको क्यूजे मोटर विश्वकै अग्रणी गिली समूह अन्तर्गतको ब्रान्ड हो।
कम्पनीले इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको स्वामित्व लिनुका साथै हार्ले–डेभिडसनका लागि समेत मोटरसाइकल निर्माण गर्दै आएको छ।