बुटवलमा अपाचे रेस सम्पन्न

टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको आयोजनामा बुटवलमा अपाचे रेस एक्सपेरियन्स जीपी रेसिङ क्वालिफायर्स सम्पन्न भएको छ ।

तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा भएको यस प्रतियोगितामा उदीयमान राइडरहरूको अत्यधिक सहभागिता रहेको थियो ।

बुटवल क्षेत्रबाट प्राप्त अभूतपूर्व उत्साहका कारण ७६ जनाको सहभागिता पुग्नेबित्तिकै दर्ता प्रक्रिया रोक्नुपरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय च्याम्पियनहरू सुजन थापा मगर र नवाङ मोक्तानले सहभागीहरूलाई राइडिङ पोस्चर, कर्नरिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी व्यावसायिक प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण पश्चात् भएको १६० सीसी वर्गको प्रतिस्पर्धात्मक रेसबाट ग्रान्ड फिनालेका लागि शीर्ष तीन फाइनलिस्टहरू घोषित भएका छन् ।

जसमा धीरज बि.क विजेता बनेका छन् भने फस्र्ट रनरअपमा अभिषेक पन्थी र सेकेन्ड रनरअपमा अरिक श्रेष्ठले बाजी मारेका छन् ।

छनोट भएका यी तीनै जना राइडरहरूले अब काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका शीर्ष प्रतियोगीहरूसँग ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

साथै, ग्रान्ड फिनालेका विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *