बीवाईडीको डाइनेस्टी सिरिजले पार गर्‍यो १ करोड उत्पादनको आँकडा

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्नो चर्चित डाइनेस्टी सिरिजमा १ करोड गाडी उत्पादन गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कम्पनीको उत्पादन लाइनबाट डाइनेस्टी सिरिजको एक करोडौं गाडीका रूपमा फ्ल्यागशिप सेडान दा हान (द ग्रेट हान) बाहिरिएको हो।

डाइनेस्टी सिरिजको यात्रा सन् २०१३ को अगस्टमा क्विन मोडलबाट सुरु भएको थियो। करिब १३ वर्षमै सिरिजले १ करोड गाडी उत्पादनको आँकडा पार गरेको हो। हाल यस सिरिजमा टाङ, हान, क्विन, सोङ, युआन र सिया गरी ६ प्रमुख मोडल छन्, जसअन्तर्गत विभिन्न संस्करणसहित २७ वटा गाडी उपलब्ध छन्।

सिरिजको उत्पादन गति पछिल्लो समय थप तीव्र भएको देखिन्छ। सन् २०२६ को जनवरीसम्म डाइनेस्टी सिरिजको बिक्री ८८ लाख ६० हजार युनिट पुगेको थियो। त्यसपछि केही महिनामै थप बिक्री हुँदै कुल संख्या १ करोड पुगेको कम्पनीले जनाएको छ।

बीवाईडीले हालसम्म बिक्री गरेको कुल १ करोड ५० लाख न्यू इनर्जी भेइकल (NEV) मध्ये डाइनेस्टी सिरिजको योगदान मात्रै करिब ९० लाख युनिट रहेको छ। बाँकी करिब ६० लाख युनिट कम्पनीको ओसियन सिरिजबाट आएको जनाइएको छ।

यस अवसरमा उत्पादन भएको दा हान लाई कम्पनीले अत्याधुनिक प्रविधिसहितको फ्ल्यागशिप सेडानका रूपमा प्रस्तुत गरेको छ। ५,२५६ एमएम लामो र ३,१३० एमएम ह्विलबेस रहेको यस कारमा डुअल–च्याम्बर एयर सस्पेन्सन तथा रियर–ह्विल स्टेयरिङ उपलब्ध छ। रियर–ह्विल स्टेयरिङका कारण यसको टर्निङ रेडियस ५ मिटरभन्दा कम रहेको कम्पनीको दाबी छ।

कारमा १०२.३२ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ। पूर्ण चार्जमा यसले १,००८ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।

डाइनेस्टी सिरिजको १ करोड उत्पादनलाई बीवाईडीले आफ्नो न्यू इनर्जी भेइकल व्यवसायको विस्तारसँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *