दसैं–तिहार लक्षित अटो अफरको ओइरो, १२ लाखसम्म छुट

काठमाडौं । दसैं, तिहार र छठ नजिकिएसँगै नेपाली अटो बजारमा फेस्टिभ अफरको प्रतिस्पर्धा बढेको छ। विभिन्न ब्रान्डका आधिकारिक बिक्रेताले ग्राहक आकर्षित गर्न नगद छुटदेखि बीमा, सडक कर, चार्जर र निःशुल्क सर्भिसिङसम्मका योजना सार्वजनिक गरेका छन्।

चाडपर्वमा नयाँ सवारीसाधनको माग बढ्ने भएकाले कम्पनीहरूले बिक्री बढाउनुका साथै पुरानो स्टक व्यवस्थापन गर्न समेत यस्ता अफर ल्याएका हुन्। अहिले बजारमा १ लाखदेखि १२ लाख रुपैयाँसम्मको नगद छुट उपलब्ध छ।

एक्सपेङ ले सबैभन्दा ठूलो छुटमध्ये एक घोषणा गरेको छ। सीजी मोटर्सको दसैं अफरमा एक्सपेङ जी६ खरिद गर्दा १२ लाख रुपैयाँसम्मको छुट, एक वर्षको बीमा र सडक दस्तुर तथा ६.६ किलोवाटको वालमाउन्ट चार्जर उपलब्ध गराइनेछ। ग्राहकले घरमै टेस्ट ड्राइभको सुविधा पनि पाउनेछन्।

होण्डा ले आफ्ना विभिन्न मोडलमा १० लाख रुपैयाँसम्म नगद छुट दिने भएको छ। स्याकार ट्रेडिङको अफरमा एक आर्थिक वर्षको सडक कर र फुल इन्स्योरेन्स निःशुल्क उपलब्ध हुनेछ। सीआर–भी, एलिभेट, सिटी तथा सिटी हाइब्रिडलगायत मोडलमा यो योजना लागू हुनेछ। पुरानो गाडी साट्नेलाई एक्सचेन्ज बोनससमेत दिइने कम्पनीले जनाएको छ।

जीएसी आयोन का प्रिमियम विद्युतीय सवारी खरिद गर्दा ग्राहकले ९ लाख रुपैयाँसम्मको लाभ पाउनेछन्। सीजी मोटर्सले ल्याएको योजनामा एक्सचेन्ज बोनस, एक वर्षको सडक कर, अटो प्लस इन्स्योरेन्स र ६.६ किलोवाटको घरेलु चार्जर समावेश छन्।

हुन्डाई ले फेस्टिभ योजनामा ३ लाख रुपैयाँसम्म नगद छुट दिएको छ। स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म जित्न सकिने योजनासँगै एक वर्षको बीमा तथा सडक कर र ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ।

एमजी का विद्युतीय कार खरिदमा ३ लाख रुपैयाँसम्मको लाभ पाइनेछ। पारामाउन्ट मोटर्सले बीमा, एक वर्षको सडक कर, एक्सचेन्ज तथा फाइनान्स सुविधासमेत समेटेको योजना ल्याएको छ।

त्यस्तै, आइकार भी२३ मा २ लाख रुपैयाँ नगद छुटसहित ११ वर्षसम्मको एक्सटेन्डेड वारेन्टी, एक वर्षको कर तथा बीमा र ७ किलोवाटको वालमाउन्ट चार्जर दिइनेछ। ओमोडा ई५ का दुवै भेरियन्टमा १ लाख, जेको जे५ मा ३ लाख र जे६ टी मा २ लाख रुपैयाँ छुट घोषणा गरिएको छ।

ग्रेटवाल मोटर ले ओरा फाइभमा २ लाख र हाभाल जोलियन म्याक्समा ३ लाख रुपैयाँसम्म छुट दिएको छ। यससँगै बीमा, सडक दस्तुर, स्पेयर टायर र ७ किलोवाटको चार्जरसमेत उपलब्ध गराइनेछ।

यसरी चाडपर्व लक्षित अफरमा कम्पनीहरूले नगद छुटसँगै बीमा, कर, चार्जर, सर्भिसिङ, वारेन्टी र एक्सचेन्ज बोनसलाई प्राथमिकतामा राखेका छन्। यसले दसैं–तिहारको सिजनमा नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकबीच विभिन्न ब्रान्डबीचको प्रतिस्पर्धा थप रोचक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *