भोटेकोशी बाढीमा ३३८ सवारीसँगै ४४१ चालक अझै सम्पर्कविहीन

गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालको ढुवानी तथा यातायात क्षेत्रमा अकल्पनीय क्षति पुर्‍याएको छ ।

बाढीले ३३८ वटा मालवाहक ट्रक तथा कन्टेनर बगाउनुका साथै ती सवारीसाधनमा रहेका ४४१ जना चालक, सहचालक र व्यवसायीहरू अझै सम्पर्कविहीन रहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ।

महासंघले आफ्ना सदस्य संस्थाहरूबाट तथ्याङ्क संकलन गरी असोज ५ गते यातायात व्यवस्था विभागलाई यो प्रारम्भिक विवरण बुझाएको हो ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँका अनुसार, भदौ १० गते बिहानै चीनको तिब्बती भू–भागबाट एक्कासि उर्लिएर आएको बाढीले टिमुरे क्षेत्रमा रहेका सवारीसाधन र त्यहाँ आश्रित मानिसहरूलाई निमेषभरमै बेपत्ता पारेको थियो ।

“विभागको आग्रहपछि हामीले देशभरका सदस्य संघ–संस्थामार्फत विवरण संकलन गर्दा यति ठूलो संख्यामा हाम्रा साथीहरू र सम्पत्ति बेपत्ता भएको पायौं, यो यातायात क्षेत्रका लागि निकै ठूलो बज्रपात हो,” उनले भने।

महासंघले विभागलाई बुझाएको क्षतिको विस्तृत विवरणअनुसार देशका विभिन्न यातायात संघ–समितिका सवारीसाधन र जनशक्ति बेपत्ता भएका छन् ।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, लोकन्थलीले सबैभन्दा बढी क्षति व्यहोरेको छ । जहाँका २१७ वटा ट्रक/कन्टेनर र २५१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन् ।

नारायणी यातायात व्यवसायी संघ, हेटौँडाका ५८ वटा ट्रक/कन्टेनर र ७८ जना बेपत्ता, गण्डकी ट्रक व्यवसायी संघ, पोखराका २१ वटा ट्रक/कन्टेनर र ३४ जना बेपत्ता, तराई यातायात व्यवसायी संघका २१ वटा सवारीसाधन र ३५ जना बेपत्ता ,पश्चिमाञ्चल यातायात व्यवसायी समितिका ११ वटा कन्टेनर र २२ जना बेपत्ता भएका छन् ।

ट्रक यातायात व्यवसायी संघ नेपालका १० वटा कन्टेनर र २० जना बेपत्ता भएका छन् ।

देशको आपूर्ति व्यवस्थापनको मेरुदण्ड मानिने मालवाहक सवारी र त्यसलाई हाँक्ने जनशक्ति यसरी एकैपटक बेपत्ता हुँदा समग्र यातायात तथा ढुवानी व्यवसाय नै अहिले शोकमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *