काठमाडौं । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले नेपालमा आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तारलाई तीव्रता दिएको छ । कम्पनीले काठमाडौंको चाबहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएसँगै एकै हप्तामा देशभर चारवटा ‘३एस’ शोरुम विस्तार गरेको हो ।
ट्रायम्फ नेपालका आधिकारिक वितरक जेन पाल गियर्सले चाबहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । नयाँ शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा एकै स्थानबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
चाबहिल–बौद्ध सडकमा रहेको उक्त शोरुम उपत्यकाको व्यस्त तथा पहुँचयोग्य क्षेत्रमा स्थापना गरिएको कम्पनीको भनाइ छ । यसबाट चाबहिल, बौद्ध तथा आसपासका मोटरसाइकलप्रेमीले ट्रायम्फका बाइक खरिददेखि नियमित मर्मतसम्भारसम्मको सुविधा एउटै स्थानबाट लिन सक्नेछन् ।
नयाँ शोरुममा ट्रायम्फका मोटरसाइकलसँगै दक्ष प्राविधिकबाट आधिकारिक सर्भिस तथा ओरिजिनल स्पेयर पार्ट्स उपलब्ध गराइनेछ । यसले बिक्रीपछिको सेवा लिन ग्राहकलाई टाढा जानुपर्ने बाध्यता कम गर्ने कम्पनीको अपेक्षा छ ।
चाबहिल–बौद्धको नयाँ शोरुमसँगै ट्रायम्फ नेपालले धनगढी, दाङ, हेटौंडा र चाबहिल–बौद्धमा एकै हप्ताभित्र चारवटा नयाँ ‘३एस’ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार नेपालमा मिड–प्रिमियम मोटरसाइकल सेग्मेन्टमा एकै हप्तामा चारवटा पूर्ण सुविधासहितका शोरुम सञ्चालनमा ल्याइएको यो पहिलोपटक हो ।
कम्पनीले पछिल्लो विस्तारलाई ट्रायम्फको देशव्यापी नेटवर्क बलियो बनाउने योजनाको हिस्सा भनेको छ । विशेषगरी काठमाडौं उपत्यकाबाहेकका क्षेत्रमा पनि बिक्रीपछिको सेवा र ओरिजिनल स्पेयर पार्ट्सको पहुँच बढाउने उद्देश्यले नयाँ शोरुम विस्तार गरिएको जनाइएको छ ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले एकै हप्तामा चारवटा ३एस शोरुम थपिनु कम्पनीको नेटवर्क विस्तारको महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार विस्तारसँगै ग्राहकले मोटरसाइकल खरिद मात्र नभई व्यावसायिक सेवा र वास्तविक स्पेयर पार्ट्ससमेत सहज रूपमा पाउनेछन् ।
त्यस्तै, ट्रायम्फ चाबहिल–बौद्धका रोहन शाहीले नयाँ शोरुमबाट ग्राहकलाई बिक्री, सर्भिस र ओरिजिनल स्पेयर पार्ट्सको भरपर्दो सेवा दिने उद्देश्य रहेको बताए । साथै, ट्रायम्फ राइडर तथा मोटरसाइकलप्रेमीलाई एकै ठाउँमा जोड्ने वातावरण बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
कम्पनीले नयाँ शोरुम विस्तारसँगै पुराना तथा नयाँ ट्रायम्फ राइडरलाई ब्रान्डसँग थप नजिक जोड्ने अपेक्षा गरेको छ । चार नयाँ शोरुम थपिएसँगै नेपालमा ट्रायम्फको बिक्री तथा बिक्रीपछिको सेवा नेटवर्क थप फराकिलो भएको छ।