अर्को वर्ष बजारमा ईआरईभी ल्याउँदै टोयोटा

विश्वकै ठूलो सवारी उत्पादक जापानी ब्राण्ड टोयोटा मोटरले सन् २०२७ देखि एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (ईआरईभी) उत्पादन थाल्ने भएको छ । कम्पनीले विश्वकै ठूलो ईभी बजार चीनमा चिनियाँ ईभीसँग प्रतिस्पर्धा गर्न आफ्नो लाइनअप फराकिलो बनाउने नयाँ रणनीति अपनाउने भएको हो ।

निक्केई एसियाले जनाए अनुसार टोयोटाले सन् २०२७ को अप्रिलदेखि पहिलोपटक चीनमै ईआरईभी उत्पादन गर्ने योजना बनाएको हो । टोयोटाले सुरूमा अप्रलिदेखि प्रति महिना केही सय गाडीहरूबाट उत्पादन गर्ने तालिका छ ।

टोयोटाले सन् २०२७ भरीमा लगभग २ लाख युनिट र २०२८ मा करिब ४ लाख युनिट उत्पादन गर्ने लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले सुरूमा कुन ईआरईभी मोडल बजारमा ल्याउँछ भन्ने खुलाइएको छैन ।

टोयोटाका लागि यो नयाँ योजनाले ईभी व्यवसायमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। साथै, यसले परम्परागत हाइब्रिड प्रविधिमा आफ्नो बलियो पकड बनाएका जापानी कार निर्माताहरूले अझ बढी पावरट्रेन विकल्पहरू प्रदान गरेर चिनियाँ बजारमा अनुकूलन हुने प्रयासलाई दर्शाउँछ।

तथापि, टोयोटा प्रवेश गर्न तयार भइरहेको एक्सटेन्डेड रेन्ज बजारले पनि चीनमा मागको दबाबको सामना गरिरहेको छ। तथ्यांक अनुसार अगस्टमा चीनको ईआरईभी खुद्रा बिक्री कुल ८१ हजार युनिट रहेको थियो, जुन जुलाईको ८५ हजार युनिटबाट घटेको हो।

चीनमा ईआरईभी खुद्रा बिक्री यो वर्षको पहिलो ८ महिनामा कुल ६ लाख १६ हजार युनिट रह्यो, जुन अघिल्लो वर्षको तुलनामा १५.८५ प्रतिशत ले घटेको हो।

ईआरईभीमा गाडीका पाङ्ग्राहरू केवल इलेक्ट्रिक मोटरले नै घुमाउँछन् । तर ब्याट्री सकिँदा गाडीभित्रै रहेको सानो आन्तरिक दहन इन्जिन (पेट्रोल/डिजेल) ले बिजुली उत्पन्न गरी ब्याट्री चार्ज गर्छ। यसले गर्दा लामो दूरीको यात्रामा चालकहरू चार्जिङ स्टेसनमा मात्र निर्भर हुनुपर्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *