क्षति सम्बन्धी विवरण उपलब्ध गराउन समितिको आह्वान

यातायात व्यवस्था विभागले गत भाद्र १० मा रसुवामा आएको विनाशकारी बाढीका कारण यातायात क्षेत्रमा परेको क्षतिसम्बन्धी प्रतिवेदन तयार पार्न नागरिक तहबाट क्षतिसम्बन्धी विवरण तथा तथ्यांक माग गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बनेको १३ सदस्यीय क्षति मूल्यांकन समितिले एक सूचना जारी गर्दै विवरण माग गरेको हो ।

पूर्वाधार विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा गत भाद्र २६ गते बसेको बैठकको निर्णयअनुसार भोटेकोसी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा परेको मानवीय र भौतिक क्षतिको मूल्यांकन गरी क्षतिपूर्तिको आधार निर्धारण गर्न क्षति मूल्यांकन समिति गठन भएको थियो । सो समितिले प्रतिवेदन तयार पार्नका लागि अन्य व्यक्तिहरूसँग विवरण माग गरेको हो ।

समितिले सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संघसंस्था, अनुसन्धानकर्ता, सरोकारवाला निकाय तथा आम नागरिकहरूबाट क्षतिसम्बन्धी विवरण माग गरेको छ । प्राप्त तथ्यांकका आधारमा क्षति मूल्यांकन, क्षतिपूर्तिको आधार र अन्य सरोकारवाला विषयमा रायसहितको प्रतिवेदन समितिले पेस गर्ने जनाएको छ ।

विभागले जारी गरेको सूचनाअनुसार क्षतिसम्बन्धी विवरणहरू सूचना प्रकाशित भएको एक सातभित्र विभागको ईमेल bibhagyatayat@gmail.com मार्फत पठाउन सकिने छ भने विभागको योजना शाखामा लिखित रूपमा समेत उपलब्ध गराउन सकिनेछ ।

संस्थाहरूले विवरण पठाउँदा पहिचान खुलाई तथ्यांक उपलब्ध गराउन अनुरोध गरिएको छ भने सम्भव भए सम्म तथ्यांकको स्रोत खुलाई पठाईदिन समेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *