दसैँमा अत्यावश्यक वस्तुको ढुवानी नरोक्न ट्रक व्यवसायी महासंघको सुझाव

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघले दसैँका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन मालवाहक सवारीसाधन सञ्चालनमा आवश्यक व्यवस्थापन गर्न सुझाव दिएको छ । सडकको अवस्था र यात्रुवाहक सवारीसाधनको चापलाई ध्यानमा राख्दै अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने महासंघको धारणा छ ।

मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सहभागी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बाँनिया र महासचिव बद्रीप्रसाद चौलागाईंले चाडपर्वका समयमा मालवाहक सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनबारे सुझाव दिएका हुन् ।

महासंघका अध्यक्ष बाँनियाले सडक विभागबाट विभिन्न सडकको अवस्थाबारे जानकारी प्राप्त भएकाले त्यसैअनुसार दसैँमा ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सडकको अवस्था र आवश्यकताका आधारमा ठूला ट्रक सञ्चालन गर्ने तथा अत्यावश्यक वस्तु बोकेका सवारीसाधनलाई आवतजावतमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार दसैँका बेला यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएकाले मालवाहक सवारीसाधन सञ्चालन गर्दा यात्रुको आवतजावतलाई समेत ध्यान दिन आवश्यक छ । अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित नहुने र यात्रु आवागमनमा समेत समस्या नआउने गरी सडकअनुसार ढुवानी व्यवस्थापन गर्नुपर्ने महासंघले जनाएको छ ।

अध्यक्ष बाँनियाले सडक विभागसँग थप समन्वय गरेर दसैँका लागि आवश्यक व्यवस्थापनसम्बन्धी काम अघि बढाउने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

“अत्यावश्यक सामानको ढुवानी रोक्नु हुँदैन । यात्रुवाहक सवारीसाधनको चापलाई ध्यानमा राखेर मालवाहक सवारीसाधन सञ्चालन गर्नुपर्छ । यस विषयमा विभागसँग थप समन्वय गरेर आवश्यक व्यवस्थापन गर्ने कुरा भएको छ,” उहाँले भन्नुभयो ।

महासंघले दसैँअघि सडकको अवस्था, यात्रुवाहक सवारीसाधनको चाप र अत्यावश्यक सामग्रीको आपूर्तिलाई ध्यानमा राख्दै सरकारले आवश्यक तयारी गर्नुपर्ने सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *