काठमाडौँ उपत्यकामा घट्यो सवारी दुर्घटना

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको निरन्तर सडक सचेतना अभियानका कारण उपत्यकामा सवारी दुर्घटना १९ प्रतिशतभन्दा बढीले घटेको छ । सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न समय, उमेर समूह र समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सुरक्षित यात्रा र सडक अनुशासनबारे जानकारी दिने कार्यक्रमलाई निरन्तरता दिइएपछि दुर्घटनामा उल्लेख्य कमी आएको हो । चालु आर्थिक वर्षमा मात्रै ट्राफिक प्रहरीले १० हजार ७२० वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरीको मुख्य कार्यक्षेत्र सडक भए पनि दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरदेखि विद्यालय र कलेजसम्म सचेतना कार्यक्रम विस्तार गरिएको छ । नेपालभर सडक सञ्जालको विस्तार भइरहेकाले हरेक नागरिकलाई सडक सुरक्षाबारे जानकार बनाउन आवश्यक रहेको प्रहरीको भनाइ छ ।

सडक सुरक्षालाई प्राथमिकतामा राखेर ट्राफिक नियमको पालना र सुरक्षित सवारी सञ्चालनबारे निरन्तर सचेतना फैलाउन सके दुर्घटना अझै घटाउन सकिने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *