काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट विभिन्न समयमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी मंगलबार सम्बन्धीत सवारी धनीहरूलाई हस्तान्तरण गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान चलाई खोजतलास गरेपछि फेला परेका यी मोटरसाइकल तथा स्कुटरहरू एक कार्यक्रमका बीच धनीहरूलाई बुझाएको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरूबाट चोरी भएका तथा हराएका सवारी साधनहरूको खोजतलासका लागि ट्राफिक प्रहरीले सादा पोशाकमा समेत टोली परिचालन गर्दै आएको छ । प्राप्त निवेदन र सूचनाका आधारमा प्रविधिको प्रयोग गरी प्रहरीले विभिन्न मितिमा यी सवारी साधनहरू बरामद गर्न सफल भएको थियो ।
रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा आयोजित विशेष हस्तान्तरण कार्यक्रममा प्रहरी वरिष्ठ अधिकारीहरूले सवारी साधनका वास्तविक धनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी साँचो हस्तान्तरण गरेका हुन् ।
आफ्ना हराएका सवारी साधन पुनः फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीको टोलीलाई धन्यवाद ज्ञापन गरेका थिए । प्रहरीले आफ्ना सवारी साधनहरू सुरक्षित स्थानमा मात्र पार्क गर्न, सवारी साधनमा हन्डल लकका साथै अतिरिक्त ह्विल लक र जिपिएस ट्रयाकरजस्ता सुरक्षा प्रणालीको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
साथै, सवारी साधन हराएमा तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको निःशुल्क नम्बर १०३ मा जानकारी गराउन समेत अनुरोध गरिएको छ ।