टेस्लाको ‘साइबरक्याब’माथि छानबिन सुरू

अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले ल्याएको स्वचालित ट्याक्सी ‘साइबरक्याब’माथि अनुषन्धान सुरू भएको छ । अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (NHTSA) ले साइबरक्याब माथि अनुषन्धान सुरू गरेको हो । सार्वजनिक यात्रुसँग शुल्क लिएर सेवा दिन थालेको केही घण्टामा नै साइबरक्याब माथि छानबिन सुरू गरिएको हो ।

अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन(NHTSA)को एक्यू-२६००२ नम्बरको अनुसन्धानले करिब १ हजार साइबरक्याब अनुषन्धानको घेरामा आएको हो । यी गाडीलाई अनुषन्धानको घेरामा ल्याउनुको मुख्य कारण स्टेयरिङ ह्विल, पेडल र साइड मिररबिना अमेरिकी संघीय सुरक्षा मापदण्डअनुसार कसरी प्रमाणित गर्न सफल भयो भन्ने विषय हो ।

रोयटर्सका अनुसार टेस्लाले साइबरक्याबका लागि छुट परीक्षण माग्नुको सट्टा आफैंले सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरेको थियो । यसअघि यस्तै अवस्थाको सामना गरेको अमेजनको स्वामित्वमा रहेको जोक्सले भने सन् २०२२ मा औपचारिक छुटका लागि आवेदन दिएको थियो ।

NHTSA ले साइबरक्याबमा मानव चालकका लागि आवश्यक नियन्त्रण प्रणाली नै नभएको अवस्थामा विद्यमान संघीय सुरक्षा नियमहरू लागू हुन्छन् कि हुँदैनन् भन्ने विषयमा टेस्लाको स्वप्रमाणीकरणको आधार जाँच गरिरहेको छ । NHTSA का प्रशासक जोनाथन मोरिसनले स्वचालित सवारी विकासलाई समर्थन गरे पनि संघीय नियमको पालना सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

नियामकका अनुसार यो प्रमाणीकरण सम्बन्धी समीक्षा हो । सवारी फिर्ता बोलाउने (रिकल) प्रक्रिया होइन । साइबरक्याब असुरक्षित वा खराब रहेको निष्कर्ष पनि हालसम्म निकालिएको छैन । यस विषयमा टेस्लाले भने सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *