रोयल इनफिल्डले आगामी सेप्टेम्बर १२ ९भदौ २७० मा काठमाडौंको भृकुटीमण्डपमा तय गरिएको आफ्नो बहुप्रतीक्षित ‘हन्टरहुड काठमाडौं’ कार्यक्रम अनिश्चितकालका लागि स्थगन गरेको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत एक विज्ञप्ती जारी गरेर यसबारे जानकारी दिएको हो ।
कठिन समयमा नेपाल र नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ । नयाँ मिति भने चाँडै सार्वजनिक गरिने कम्पनीले बताएको छ ।
यसअघि नै कार्यक्रमका लागि टिकट खरिद गरिसकेका दर्शकहरूका लागि उक्त टिकटहरू पछि आयोजना हुने नयाँ मितिको कार्यक्रममा मान्य हुने कम्पनीले जानकारी दिएको छ ।
यद्यपि, नयाँ मितिमा सहभागी हुन अनिच्छुक दर्शकहरूका लागि टिकटको पूरा रकम फिर्ता (रिफन्ड) दिइने सुविधा समेत कम्पनीले उपलब्ध गराउने पुष्टि गरेको छ ।
काठमाडौं संस्करणको यस ‘हन्टरहुड स्ट्रिट फेस्टिभल’ मा संगीत, कला, मोटरसाइकल, फेसन र स्थानीय खानाका स्टलहरू समावेश गर्ने तयारी गरिएको थियो ।