मारुती सुजुकीले सस्तो मूल्यको नयाँ इलेक्ट्रीक कार बजारमा ल्याउने भएको छ । कम्पनीले हाल बिक्री गरिरहेको ई-भिटाराभन्दा सानो र किफायती मूल्यको नयाँ ईभी कार बजारमा ल्याउने तयारी गरिरहेको हो ।
मारुतीले आफ्नो पहिलो विद्युतीय मोडल ई-भिटारा बजारमा ल्याए पनि वद्युतीय कार बजारमा पकड जमाउन सकेको छैन । यसैलाई मध्येनजर गर्दै नयाँ मोडल ल्याउने भएको हो ।मारुतीको नयाँ ईभीको डिजाइन तथा प्राविधिक विवरण सार्वजनिक नभए पनि सुजुकीले हालै देखाएको ई-स्काई अवधारणामा बनाउने अपेक्षा गरिएको छ ।
सुजुकी ई-स्काईको लम्बाइ ३,३९५ एमएम र ह्वीलबेस २,४६० एमएम छ । यसमा २६ किलोवाट आवरको ब्याट्री प्रयोग गरिने छ । जसले एकपटक चार्ज गर्दा अधिकतम करिब ३१० किलोमिटरसम्म रेन्द दिने दाबी गरिएको छ। यद्यपि ई-स्काई र भारतका लागि विकास भइरहेको नयाँ मारुती विद्युतीय कारबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन।
कम्पनीले ल्याउने नयाँ विद्युतीय कार १० लाख भारुभन्दा कममै बजारमा आउने बताइएको छ । मारुतीले हाल बजारमा रहेका पेट्रोल वा अन्य इन्धनबाट चल्ने कारलाई ईभी बनाएर नभई पूरै नयाँ मोडलको विद्युतीय कारका रूपमा विकास गरिरहेको हो ।
कम्पनीले कारको मूल्य प्रतिस्पर्धी बनाउन अधिक मात्रमा स्थानीय सामान र तुलनात्मक रूपमा सानो ब्याट्री प्रयोग गर्ने रणनीति अपनाउने अपेक्षा गरिएको छ।सुजुकीको नयाँ कार मुख्यतः सहरी तथा छोटो दुरीको दैनिक यात्रा गर्नेहरुलाई लक्षित गरिएको छ । यसले टाटाको टियागो ईभीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
मारुतीले भने नयाँ कारको ब्याट्री क्षमता, ब्याट्रीको रसायन, विद्युतीय मोटरको शक्ति र चार्जिङ क्षमताबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।