बाढीका कारण विभिन्न विद्युत् आयोजना प्रभावित भएका छन्। केही आयोजनामा कार्यरत जनशक्ति सम्पर्कबिहीन भएको आशंका छ। नेपाली सेनाले विभिन्न जलविद्युत् परियोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ। साथै आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार जारी राखेको छ।
नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाबाट २ जनाको उद्धार गरेको छ। उक्त आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीबाट सुरुङको भित्री भागसम्म खोजी भएको थियो। उक्त सुरुङमा मानिस नभेटाएपछि उद्धार टोली फर्किएको छ।
रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरुले आज बिहानदेखि सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट ९ जनाको उद्धार भइसकेको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ। उक्त आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ। उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन, र चिनियाँ टोलीले काम गरिरहेको छ।
नुवाकोट माथिल्लो त्रिशूली–थ्री ए को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ। उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिहरेको छ। माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले २ जनाको उद्धार गरिसकेको छ।
हाल उक्त आयोजनामा नेपाली सेनाका थप ९ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन्। यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास सुरु गरेको हो।
नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जनाको उद्धार भइसकेको छ। सौर्य आयोजनाबाट ४ जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट ४ जनाको उद्धार भइसकेको जनाइएको छ।