नाडा अटो शोमा शनिबार देखियो उत्साह, ३५ हजार दर्शक

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शोमा शनिबार दर्शकको उल्लेख्य भीड देखिएको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार शनिबार मात्रै करिब ३५ हजार जनाले अटो शो अवलोकन गरेका छन्।

मंगलबारदेखि सुरु भएको प्रदर्शनीको पहिलो दिन करिब ३० हजार दर्शक पुगेका थिए। त्यसपछि भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट उत्पन्न परिस्थितिका कारण बुधबार अटो शोमा दर्शकको चाप केही घटेको थियो। शुक्रबारदेखि भने अवलोकनकर्ताको संख्या पुनः बढ्न थालेको आयोजकले जनाएको छ।

शनिबार सार्वजनिक बिदा भएकाले नयाँ सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकको बाक्लो उपस्थिति देखिएको थियो। विशेषगरी विद्युतीय कार, मोटरसाइकल र स्कुटरका स्टलमा अवलोकनकर्ताको चाप बढी थियो।

यसपटकको शोमा नयाँ ब्रान्ड र मोडलको प्रवेशले पनि दर्शकको आकर्षण बढाएको छ। करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक भएका छन् भने नाडा अटो शोमार्फत करिब आधा दर्जन नयाँ अटोमोबाइल ब्रान्डले नेपाली बजारमा प्रवेश गरेका छन्।

चारपाङ्ग्रे सेग्मेन्टमा नाबी फिगो, नाबी वक्स, न्यु नेक्सन, पन्च ईभी, बीवाईडी एटो २, जेको जेसिक्स, चेरी क्यु-क्यु, एक्सपिडियन, ओरा लगायतका नयाँ मोडलले ध्यान खिचेका छन्। त्यस्तै, लिपमोटर, महिन्द्रा बीई ६ र प्रोटोन इमासका नयाँ मोडल हेर्न पनि दर्शकको भीड देखिएको छ।

ईभीप्रतिको बढ्दो चासोका बीच पेट्रोल सवारीसाधनप्रति पनि ग्राहकको रुचि कायम रहेको देखिन्छ। सुजुकी ब्रेजा, जिमी र अल न्यू हुन्डाई भेन्यूलगायतका पेट्रोल मोडलमा ग्राहकले चासो देखाएका छन्।

दुईपाङ्ग्रे बजारतर्फ यामाहा एक्सएसआर १५५, यामाहा आर १५, यामाहा कासिनो, अप्रिलिया एसआर १७०, एक्सट्रिम २५० आरलगायत नयाँ मोडल प्रदर्शनीमा छन्। यस्तै, हाइराइडरतर्फ बीएमडब्ल्यू जी ३१०, एमहिरो वान र बीवाईडी थाकपुति समेत अवलोकनकर्ताको रोजाइमा परेका छन्।

यस वर्षको नाडा अटो शोमा २३ वटा प्यासेन्जर कार, १७ वटा लाइट कमर्शियल भेहिकल र १३ वटा दुईपाङ्ग्रे ब्रान्डसहित ५३ वटा सवारी ब्रान्ड सहभागी छन्। अटो पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, एसेसरिज, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसहित २०० भन्दा बढी स्टल राखिएका छन्।

नयाँ मोडलसँगै कम्पनीहरूले ल्याएका छुट, बुकिङ योजना र वित्तीय सुविधाले पनि ग्राहकलाई आकर्षित गरेको छ। विशेषगरी ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहका कार तथा नयाँ मोटरसाइकल र स्कुटरमा ग्राहकको चासो बढी देखिएको आयोजकले जनाएको छ।

भदौ १४ गतेसम्म सञ्चालन हुने अटो शोको अन्तिम दिनसम्म दर्शकको संख्या अझ बढ्ने आयोजकको अपेक्षा छ। अटोमोबाइल व्यवसायमा सुस्तता देखिएको अवस्थामा शनिबार देखिएको उत्साहले नेपाली अटो बजारमा ग्राहकको रुचि अझै बलियो रहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *