प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बीवाईडीद्वारा ७ करोड सहयोग

बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुर्नस्थापना लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ ।

बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बीवाईडी र यसको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेका हुन् ।

सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनस्र्थापनाका कार्यमा परिचालन गरिनेछ । यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनस्र्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हालैको बाढीका कारण ठूलो क्षति व्यहोरेको रसुवा जिल्ला नेपाल र चीनलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वार तथा व्यापारिक मार्ग हो । नेपालमा बीवाईडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्व रहेको छ ।

सहयोग घोषणा गर्दै बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा बाढीका कारण भएको विनाशप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले प्रभावित परिवार, उद्धार टोली र घटनास्थलमा खटिएकाहरूप्रति सहानुभूति प्रकट गर्दै एकता र सामूहिक प्रयासमार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वास व्यक्त गरेका छन् ।

साइमेक्स इंकका प्रतिनिधिहरूले पनि देशको दिगो विकास र कठिन समयमा जनताको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *