स्काइवेल बीई ११ को मूल्य ४६ लाख ९९ हजार

चिनियाँ लक्जरी विद्युतीय सवारी ब्रान्ड स्काइवेलले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी बीई ११ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले यो मोडललाई दुई फरक रेन्ज र ब्याट्री विकल्पसहित बिक्रीमा ल्याएको हो ।

नाडा अटो शोको अवसरमा कम्पनीले बीई ११ का दुई भेरियन्टको मूल्य सार्वजनिक गरेको छ ।

४१० लक्जरी भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र ५२० लक्जरी भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

बीई ११ को दुई भेरियन्टमा फरक क्षमताका ब्याट्री प्रयोग गरिएका छन् । ४१० किमि रेन्ज दिने मोडलमा ५१.९१ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ भने ५२० किमि रेन्ज क्षमताको मोडलमा ७१.९८ किलोवाट आवरको एनएमसी ब्याट्री प्रयोग गरिएको छ ।

दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ ।

गाडीमा ८०० भोल्टको हाइभोल्टेज आर्किटेक्चर दिइएको छ, जसले फास्ट चार्जिङलाई सहयोग गर्ने कम्पनीले जनाएको छ ।

डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई करिब ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी कम्पनीको छ ।

डिजाइन र कम्फर्टतर्फ पनि बीई ११ लाई प्रिमियम एसयूभीका रूपमा प्रस्तुत गरिएको छ ।

यसमा पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट तथा फराकिलो इन्टेरियर स्पेस उपलब्ध छन् । आधुनिक बडी डिजाइनले यसको लक्जरी लुकलाई थप आकर्षक बनाएको कम्पनीको भनाइ छ ।

नेपालको सडक अवस्थालाई ध्यानमा राख्दा यसको १९८ एमएम ग्राउन्ड क्लियरेन्स अर्को महत्वपूर्ण पक्ष हो ।

उच्च ग्राउन्ड क्लियरेन्सका कारण विभिन्न किसिमका सडक तथा भौगोलिक अवस्थामासमेत बीई ११ सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ ।

सुरक्षाका लागि एसयूभीमा ६ वटा एयरब्यागसँगै इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), हिल असिस्ट कन्ट्रोल (एचएसी) र अटो होल्डलगायतका फिचर समावेश छन् ।

दुई फरक रेन्ज, उच्च क्षमताको मोटर, ८०० भोल्ट आर्किटेक्चर तथा लक्जरी फिचरको संयोजनसहित बीई ११ ले नेपाली प्रिमियम विद्युतीय एसयूभी बजारमा नयाँ विकल्प थपेको छ ।

नाडा अफरमा सार्वजनिक भएको यो मोडलले नेपाली ईभी बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *