नेपाल उद्योग बाणिज्य महासंघले देशको अर्थतन्त्र एकदम चुनौतीपुर्ण घडीमा रहेको बताएको छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठलेअहिलेको समयमा निजी क्षेत्रले शिथिल बजार, कमजोर मानसिकता र चुनौतिपुर्ण व्यापार व्यवसायको एउटै चुनौति भोगेको बताएका हुन । उनले झन्डै ३६ वर्षको आफ्नो व्यवसायिक यात्रामा व्यवसायीहरुको यति कमजोर मनोबल कहिल्यै नदेखेको बताए ।
उनले भने, “अहिले नयाँ सरकार आएको छ र अर्थतन्त्रलाई अगाडी बढाउछु भनेर प्रतिबद्धताहरु व्यक्त गरेको छ । पाँच देखि सात वर्षमा ३ हजार डलरकोे प्रतिव्यक्ति आय, १०० खर्बको अर्थतन्त्र र १२ लाखलाई रोजगारी दिने घोषणा बजेट मार्फत गरेको छ । तर ति कामहरु अगाडी बढाउन के कस्ता रणनीतिहरु कार्यान्वयन गरिरहेको छ त्यसबारे केही जानकारी छैन । सरकारले यसबारे स्पष्ट रणनीति लिएर अगाडी बढ्नु जरुरी छ ।”
त्यस्तै, अहिले नेपालको अर्थतन्त्रलाई रिइन्जिनियरिङ गर्नुपर्ने अवस्था देखिएको छ त्यसतर्फ सवै एक भएर लाग्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताए । उनले भने, “अटो क्षेत्रकै मात्र कुरा गर्ने हो भनेपनि गत आर्थिक वर्षमा नेपालमा १०६ अर्बको अटोमोवाइल क्षेत्रका सामानहरु आयात भएका छन् । सो आयातबाट ८१ अर्ब सरकारलाई राजस्व बुझाएको छ। करिव १८ खर्बको आयातमा झण्डै ९ प्रतिशतको राजस्व नेपालको अटो क्षेत्रले सरकारलाई बुझाएको देखिन्छ । तर यति धेरै राजस्व बुझाउने क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न उप—राष्ट्रपति मार्फत नेपाल सरकारलाई विशेष ध्यानदिन आग्रह गर्न चाहन्छु ।”
श्रेष्ठले केही समयअघि तत्कालिन अर्थमन्त्री डा.रामशरण महतलाई अटोमोवाइल क्षेत्रमा भन्सारदर बढी भएकोले घटाउन आग्रह गरेको भएता पनि सरकारले ध्यान नदिएको गुनासो गरे । उनले भने, “उहाँले तपाईहरु नै उद्योग खोल्नोस् भन्नुभएको थियो हामी केहीले उद्योगहरु पनि खोलेका थियौ । तर ति उद्योगहरु के कस्तो अवस्थामा छ भनेर सरकारले कहिल्यै ध्यान दिएन । अहिलेको सरकारले २०र३० वर्ष देखि बन्द भएको सरकारी उद्योग संचालन गर्ने तर निजी क्षेत्रले संचालन गरेको उद्योगबारे ध्याने दिएको छैन ।”
सरकारले निजी क्षेत्रले संचालन गरेको उद्योगतिर पनि ध्यान दिनुपर्ने र त्यसको अवस्थाबारे पनि बुझ्न जरुरी रहेको श्रेष्ठले बताए । उनले भने, “सरकारलाई म एउटा कुरामा ध्यानाकर्षण गराउन चाहन्छु । ‘भुइको टिप्छु भन्दा पोल्टाको पनि झर्ला’ भन्ने बुढापाको उखानजस्तै होला नेपालमा २२ अर्बको अटोमोवाइल क्षेत्रको स्पेयर पाट्र्समात्र आयात भएको छ । अझ यस क्षेत्रको इकोसिस्टमको कुरा गर्ने हो भने धेरै नै ठूलो हुन्छ । त्यसैले यी सवै आयातलाई कम गर्न देशमा नै उद्योगहरु स्थापना गर्ने के कति सकिन्छ यहाँ नै एसेम्बलिङबाट हुनेजति त्यताबाट गर्ने गर्नुपर्छ ।”
त्यसैगरि श्रेष्ठले यसका लागि नाडा र उद्योगबाणिज्य महासंघलाई सरकारसँग हातेमालो गर्न आग्रह गरे । नेपालमा अहिलेको मानवपुँजी जुन प्रकारको छ त्यो अबको १० बर्षमा हुदैन त्यसैले यसको बढी उपयोग गरी नेपालमा नै उद्यमशीलता बढाऔ । नेपालमा रोजगारी बढाउने भनेको उद्योगहरु लगाएर नै हो । उद्योगहरु भएमा रोजगारी बढ्छ भने तलवहरु पनि बृद्धि हुने उनले उल्लेख गरे ।