नाडाको ५० वर्ष : गाडी आयातबाट नेपाली उत्पादनसम्मको यात्रा

काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्रले पाँच दशकको यात्रा पूरा गर्दा देशको सवारी बजार आयातमा मात्र निर्भर रहने अवस्थाबाट विस्तारै उत्पादन र एसेम्बलीतर्फ अघि बढेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापनाको ५० वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणले नेपाली अटो क्षेत्रको बदलिँदो स्वरूप देखाएको हो ।

सन् १९७७ मा स्थापना हुँदा नेपालमा एक वर्षमा ८०१ वटा मात्रै नयाँ सवारी दर्ता भएका थिए । अहिले देशभर दर्ता भएका सवारीको संख्या करिब ५५ लाख पुगेको छ । नयाँ दर्ता हुने सवारीमध्ये मोटरसाइकलको हिस्सा करिब ८४ प्रतिशत रहेको छ ।

पाँच दशकको अवधिमा सवारीको संख्या बढेसँगै यस क्षेत्रसँग जोडिएको आर्थिक गतिविधि पनि उल्लेख्य रूपमा विस्तार भएको छ । पछिल्लो पाँच आर्थिक वर्षमा नेपालले करिब ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका अटोमोबाइल तथा अटोमोबाइलसम्बन्धी वस्तु आयात गरेको छ । यसबाट सरकारले करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको नाडाले जनाएको छ ।

अटो क्षेत्रको प्रभाव आयात र राजस्वमा मात्र सीमित छैन । देशभर फैलिएको डिलर नेटवर्क, स्पेयर पार्ट्स तथा आफ्टर–सेल्स सेवा, दक्ष मेकानिक तथा प्राविधिक जनशक्ति, अटो फाइनान्स र मोटर बीमाजस्ता व्यवसायसमेत यसै क्षेत्रसँग जोडिएका छन् ।

तर पछिल्ला वर्षमा नेपालको अटो क्षेत्रको अर्को महत्वपूर्ण पक्ष विस्तार हुँदै गएको छ—स्वदेशमै उत्पादन तथा एसेम्बली ।

नाडा अटो शोको स्वर्णजयन्ती संस्करणमा ‘मेड इन नेपाल/मेड फर नेपाल’ नामक विशेष पाभिलियन राखिने भएको छ । उक्त पाभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल भएका सवारी तथा अटोमोबाइल उत्पादन प्रदर्शन गरिनेछ ।

पाभिलियनमा यात्री, एसियन ब्याट्रीज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल, पूर्णबा ल्युब आयललगायत आठ नेपाली उत्पादक तथा विद्युतीय मोटरसाइकल, अटोमोबाइल ब्याट्री, लुब्रिकेन्ट र हेल्मेट उत्पादकले आफ्ना उत्पादन प्रस्तुत गर्नेछन् ।

नाडाका अनुसार यसले नेपाल अब केवल सवारीसाधन आयात गर्ने बजार मात्र नरहेको सन्देश दिनेछ । स्वदेशी उत्पादन र एसेम्बलीको विस्तारले अटो क्षेत्रमा आत्मनिर्भरतातर्फको सम्भावनालाई समेत बलियो बनाउँदै लगेको छ ।

नेपालको अटो बजारको विकासमा लामो समयदेखि जोडिएका अन्तर्राष्ट्रिय ब्रान्डको योगदान पनि उल्लेखनीय छ । सुजुकी र टाटाजस्ता ब्रान्ड दशकौंदेखि नेपाली सडकमा छन् । कतिपय अवस्थामा एउटै परिवारका विभिन्न पुस्ताले एउटै डिलरमार्फत यस्ता ब्रान्डका सवारी खरिद गर्दै आएका छन् ।

नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार पाँच दशकअघि नेपालमा सवारी ल्याउने व्यवसायीको प्रतिनिधित्व गर्ने उद्देश्यले स्थापना भएको संस्था अहिले सवारी बिक्रीसँगै त्यसको वित्तीय व्यवस्थापन, बीमा, सर्भिसिङ, पार्टपुर्जा आपूर्ति र उत्पादनसँग जोडिएको क्षेत्रको प्रतिनिधित्व गर्ने अवस्थामा पुगेको छ ।

नाडाको ५० वर्षको यात्रा केवल एउटा संस्थाको वार्षिकोत्सव नभई नेपालको अटोमोबाइल क्षेत्रमै आएको परिवर्तनको प्रतिबिम्ब भएको नाडाको भनाइ छ । आयातमा आधारित बजारबाट स्वदेशी उत्पादन र आत्मनिर्भरताको दिशातर्फ अघि बढिरहेको नेपालको अटो क्षेत्रले आगामी दिनमा थप विस्तारको सम्भावना बोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *