भारतको विद्युतीय व्यावसायिक सवारीसाधन निर्माता कम्पनी मोन्ट्रा इलेक्ट्रिकले नेपाली बजारमा प्रिमियम प्यासेन्जर विद्युतीय तीनपांग्रे सवारी ‘सुपर अटो’ सार्वजनिक गरेको छ । कम्पनीले मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको बजार मूल्य ८ लाख ६४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
नेपालका लागि आधिकारिक वितरकको रुपमा दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिप्को ट्रेडिङ प्रालिले सुपर अटो बिक्री–वितरण सुरु गरेको हो । कम्पनीले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा छनोट गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गरे । यससँगै नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको औपचारिक सुरुवात भएको छ।
नेपालको भौगोलिक अवस्था र सडकको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको यस अटोमा ९ किलोवाट आवरको ब्याट्री र ६० एनएम टर्क उत्पादन गर्ने पीएमएसएम मोटर प्रयोग गरिएको छ ।
करिब साढे चार घण्टामा फुल चार्ज हुने यो अटोले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिन्छ भने यसको अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा रहेको छ । ४.५ घण्टामा चार्ज गर्न सकिने क्षमताले दैनिक रूपमा सवारीको ज्यादा उपयोग गर्न सहयोग गर्छ ।