नेपाली बजारमा बजाजले ल्यायो दुई नयाँ चेतक इलेक्ट्रिक स्कुटर

बजाज अटो लिमिटेडले नेपालका लागि आफ्नो आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा दुई नयाँ चेतक इलेक्ट्रिक स्कुटर सी२५०१ र सी३५०३ लन्च गरेको छ ।

काठमाडौँमा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा यी दुवै मोडलहरू औपचारिक रूपमा सार्वजनिक गरिएका हुन् । आकर्षक डिजाइन र दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको चेतक सी२५०१ मा पूर्ण मेटल बडी प्रयोग गरिएको छ ।

२.५ किलावाट आवर क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको यस स्कुटरले एकपटकको फुल चार्जमा ११३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसको फास्ट चार्जिङ प्रणालीले केवल २ घण्टा २५ मिनेटमा ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । भाइब्रेन्ट कलर एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक कन्ट्रोल, रिभर्स मोड र २५ लिटरको अन्डर–सिट स्टोरेज रहेको यो स्कुटर छ फरक रङहरूमा उपलब्ध छ । नेपाली बजारमा सी२५०१ को मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, रेट्रो र आधुनिक प्रविधिको उत्कृष्ट संगम मानिएको चेतक सी३५०३ मा ३.५ किलोवाट आवर क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । यसले एकपटकको चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति दिन्छ ।

यस मोडलमा क्लियर डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, कल/म्यासेज अलर्ट, ३५ लिटरको फराकिलो स्टोरेज र क्लासिक डीआरएल हेडलाम्प उपलब्ध गराइएको छ । चार आकर्षक रङहरूमा उपलब्ध यो मोडलको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *