नेपाली बजारमा प्रिमियम मोटरसाइकल ब्राण्ड ट्रायम्फको सबैभन्दा सस्तो मोटरसाइकलक प्रवेश गरेको छ ।नेपालका लागि ट्रायम्फको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ४०० सीसी सेग्मेन्टमा आधारीत नयाँ स्पीड टी ४ मोटरसाइकल भोलिदेखि सुरू हुने नाइमा मोबिलिटी एक्स्पोमा लन्च गर्ने भएको हो।
ट्रायम्फको इन्ट्री लेभल मोडलका रूपमा निर्माण भएको टी ४ भारतमा लन्च भएको दुई वर्षपछि नेपालमा बिक्री हुन लागको हो । न्यु ट्राइम्फ स्पीड टी ४ मोटरसाइकल स्पीड ४०० कै प्लेटफर्ममा आधारित रहेर निर्माण भएको ट्रायम्फको अहिलेसम्मकै सबैभन्दा सस्तो मोडल हो । नेपालमा पनि यो सस्तो मोडलकै रूपमा उपलब्ध हुने कम्पनी स्रोतले जनाएको छ ।
मोर्डन क्लासिक डिजाइनमा रहेको टी ४ मा ३९८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, फोर भल्ब, डीओएचसी, टीआर सिरिज इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ३१ पीएस पावर तथा ३६ एनएमको टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ ।
मोटरसाइकलमा गोलाकार एलईडी हेडलाइट, गोलाकार १३ लिटरको ट्याङ्की डिजाइन र पातलो टेल इण्ड छ । यसमा ट्याकोमिटर, ओडोमिटर, ट्रिप मिटर र अन्य जानकारी देखाउने अल न्यु डुअल फर्म्याट इन्स्ट्रमेन्ट एलसीडी क्लस्टर दिइएको छ ।
साथै, नयाँ ट्राइम्फ टी ४ मोटरसाइकल निकै आकर्षक रेट्रो, रोडस्टार डिजाइन र नयाँ ग्राफिक्समा छ । स्पीड टी ४ मा कम्फर्टेवल सिट, म्यानुअल थ्रोटल बडी कन्ट्रोल, स्लिपर क्लच, ४३ एमएम टेलिस्कोपिक फोर्क, मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस, टर्क असिस्ट स्लिपर क्लच, यूएसबी पोर्ट, पूरा एलईडी लाइट, १७ इन्च एलोय ह्वील जस्ता फिचरहरू पाउन सकिन्छ ।
ट्रायम्फ स्पीड ४०० कै समान प्लेटफर्म भएता पनि स्पीड टी ४ ले जेनेरेट गर्ने इन्जिन पावर कम छ । साथै, मूल्य कम गराउनका लागि कम्पनीले यसमा फिचरहरू पनि घटायर बजारमा ल्याएको हो ।
त्यसैले, नेपाली बजारको सन्दर्भमा पनि टी ४ स्पीड ४०० भन्दा ३० देखि ५० हजार रुपैयाँ सस्तो मूल्यमा आउने अपेक्षा गर्न सकिन्छ । नेपालमा स्पीड ४०० को मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।