काठमाडौं । लगातारको वर्षा, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ५ः४५ बजेसम्म तेह्रथुम, सिन्धुपाल्चोक, इलाम, रसुवा र रुकुम पश्चिमलगायत जिल्लाका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं. २ कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ। जिरोकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा समेत अरनिको राजमार्ग अवरुद्ध भएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने रहेको प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसबीच, काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइनेछ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम अझै कायम रहेकाले प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।