काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक. प्रालिले गण्डकी प्रदेशमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै पोखरामा आधिकारिक ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सेन्टर सञ्चालनमा ल्याएको छ।
साइमेक्सको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले पोखरा महानगरपालिका–१०, बुद्धचोकमा सञ्चालनमा ल्याएको उक्त सर्भिस सेन्टरको ७ अगस्ट २०२६ मा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन्।
नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीका ग्राहकले एउटै स्थानबाट बिक्री, सर्भिस तथा स्पेयर पार्ट्ससम्बन्धी सुविधा प्राप्त गर्ने भएका छन्। यसबाट गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई थप सहज हुने कम्पनीले जनाएको छ।
यसअघि पोखरामा बीवाईडीका सवारीधनीले कम्पनीद्वारा छनोट तथा तालिमप्राप्त तेस्रो पक्षीय सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए। अब भने आधिकारिक सर्भिस सेन्टरबाट बीवाईडीको प्राविधिक मापदण्डअनुसार सेवा, वास्तविक स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट प्रशिक्षित प्राविधिकको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले सवारी बिक्रीसँगै ग्राहकको स्वामित्व यात्राभर सेवा उपलब्ध गराउनु कम्पनीको जिम्मेवारी भएको बताए।
उनका अनुसार पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुले विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, वास्तविक स्पेयर पार्ट्स तथा ग्राहककेन्द्रित सेवामार्फत ‘सुपेरियर एन्ड सिन्सियर सर्भिस’ प्रदान गर्ने कम्पनीको प्रतिबद्धता थप बलियो भएको छ।
७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको नयाँ सर्भिस सेन्टर विद्युतीय सवारीको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ। सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मतसम्भार बे, हाई–भोल्टेज कामका लागि विशेष क्षेत्र, बीवाईडीका वास्तविक स्पेयर पार्ट्सको भण्डारण तथा सवारी धुने छुट्टै सुविधा रहेका छन्।
सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटासम्म सवारी सर्भिस गर्न सक्ने क्षमता राख्ने कम्पनीको दाबी छ। यसबाट ग्राहकको प्रतीक्षा समय घटाउनुका साथै सर्भिसको दक्षता र टर्नअराउन्ड टाइम सुधार हुने अपेक्षा गरिएको छ।
ग्राहकले सेन्टरबाट नियमित मर्मतसम्भार, ब्याट्री निरीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल मर्मत, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सपोर्ट, वास्तविक स्पेयर पार्ट्सलगायतका सुविधा प्राप्त गर्नेछन्। साथै, डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम एक्जिक्युटिभमार्फत ग्राहकसम्बन्धी सेवासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
पोखरा सर्भिस सेन्टरको विस्तार नेपालमा आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पो २०२६ को पूर्वसन्ध्यामा भएको हो। एक्स्पोमा बीवाईडीले आफ्नो नयाँ पुस्ताका विद्युतीय सवारी सार्वजनिक तथा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला बीवाईडीले नयाँ उत्पादनसँगै बिक्रीपछिको सेवा सञ्जाललाई समेत विस्तार गर्दै आएको छ। पोखरामा आधिकारिक ३एस सेन्टर सञ्चालनमा आएसँगै गण्डकी प्रदेशमा बीवाईडीका ग्राहकलाई थप व्यवस्थित र सहज बिक्रीपछिको सेवा उपलब्ध हुने कम्पनीको विश्वास छ।