काठमाडौं, साउन १८ । नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका अध्यक्ष गोपाल भट्टराईले चीनको अवलोकन भ्रमणमा प्रस्थान गरेको महासङ्घको प्रतिनिधि मण्डललाई सफल, सुरक्षित तथा उपलब्धिमूलक यात्राको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष भट्टराईले जारी गर्नुभएको शुभकामना सन्देशमा चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डलले APES Auto Parts Expo Shanghai 2026 को अवलोकन गर्नुका साथै आधुनिक अटो पार्ट्स, ग्यारेज उपकरण, विद्युतीय सवारी प्रविधि, उत्पादन प्रणाली तथा अटोमोबाइल उद्योगका नवीनतम् प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासबारे प्रत्यक्ष जानकारी हासिल गर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले उक्त भ्रमणबाट प्राप्त हुने ज्ञान, सीप र अनुभवले नेपालको अटोमोबाइल क्षेत्रलाई अझ आधुनिक, प्रतिस्पर्धी तथा प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी, चीनस्थित SRM तथा Joylong सवारी साधन उत्पादन गर्ने उद्योगहरूको अवलोकन तथा अध्ययन भ्रमणको व्यवस्था मिलाएको नेपालका आधिकारिक वितरक V G Motors परिवारप्रति अध्यक्ष भट्टराईले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
उहाँले यस्ता पहलहरूले नेपाल र चीनबीच अटोमोबाइल क्षेत्रको ज्ञान आदान-प्रदान, प्रविधि हस्तान्तरण, लगानी तथा व्यवसायिक सहकार्यलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अध्यक्ष भट्टराईले प्रतिनिधिमण्डलले भ्रमणका क्रममा हासिल गर्ने ज्ञान, अनुभव तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको अटोमोबाइल क्षेत्रको विकास र व्यवसायको स्तरोन्नतिमा प्रभावकारी रूपमा उपयोग गर्ने अपेक्षा व्यक्त गर्दै पुनः सफल, उपलब्धिमूलक तथा सुरक्षित भ्रमणको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका प्रतिनिधिमण्डलको यो भ्रमणले नेपाली अटोमोबाइल तथा अटो मेकानिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रविधि, नवीन अभ्यास र व्यवसायिक सहकार्यसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।