नेपाल रेल्वे कम्पनी लिमिटेडले धनुषामा जारी कर्फ्यु आदेशका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामले शुक्रबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेश तथा यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै अर्को सूचना जारी नभएसम्म रेल सेवा बन्द रहने जनाएको हो।
कम्पनीका अनुसार प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेशका आधारमा उक्त निर्णय गरिएको हो। कर्फ्यु कायम रहेसम्म रेल सेवा सञ्चालन गर्न सम्भव नहुने पनि सूचनामा उल्लेख गरिएको छ।
नेपाल रेल्वे कम्पनीले सेवा स्थगित हुँदा यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अवस्था सामान्य भएपछि रेल सेवा पुनः सञ्चालन गरिने जनाएको छ।