तराईमा हिंसात्मक घटनाक्रम रोक्न नाडाको आग्रह

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तराईका केही जिल्लाहरूमा देखापरेका हिंसात्मक घटनाक्रम र यसबाट सिर्जित असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

नाडाले आज शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्ज लगायतका जिल्लाहरूमा पछिल्लो समय देखापरेका हिंसात्मक घटनाक्रमबाट सिर्जित असहज परिस्थितिप्रति गम्भिर चासो व्यक्त गरेको हो ।

नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएकाले सबै समुदायबिच विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सम्बन्ध हुनुपर्ने नाडाले जनाएको छ । साथै नेपाली समाजमा रहेको सामाजिक एकता र राष्ट्रिय सद्भाव नै सबैभन्दा ठुलो शक्ति भएकाले यसलाई असर पुर्याउन नहुने नाडाको भनाई छ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपुर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको हुदाँ कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कार्य गर्न नहुने बताए ।

उनले यस्ता घटनाले शान्ति सुरक्षा र सामाजिक सद्भावमा गहिरो असर पुर्‍यायने र आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल प्रभाव पार्ने हुदाँ सम्पुर्ण व्यवसायी समुदाय यस्ता अमानविय घटनाप्रति चिन्तित रहेको अभिव्यक्ति दिए ।

उप्रेतीले सम्पूर्ण सम्बन्धित पक्षहरूलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न पनि आम नागरिकलाई अनुरोध गरेका छन् । साथै, उनले नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति, सुरक्षा र नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्दै सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न  विशेष आग्रह गरेको छन ।

यस्तो विषम परिस्थितिमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान तथा सहिष्णुतालाई अझ सुदृढ बनाउन सम्पूर्ण नेपाली नागरिकहरूलाइ आ–आफ्नो स्थानबाट सकारात्मक भुमिका निर्वाह गर्न समेत उप्रेतीले अपिल गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *