ओरा फाइभमा दुई भेरियन्ट छिटै बजारमा थप हुने भएको छ । ग्रेटवाल मोटर्सले आफ्नो इलेक्ट्रीक ब्राण्डमा स्पोर्ट र जीटी गरी दुई भेरियन्ट थप गर्ने भएको हो ।
नेपाली बजारमा अघिल्लो महिनाबाट बिक्री सुरु भएको रेट्रो क्लासिक्स लुक भएको ओरा फाइभमा थपिने नयाँ भेरियन्ट तत्कालै नेपाल आउने सम्भावना भने छैन । चीनमा थप भएको दुई नयाँ भेरियन्ट प्योर ब्याट्री इलेक्ट्रीकसँगै प्लगन इन हाइब्रिड र पेट्रोल मोडलमा पनि उपलब्ध हुनेछ ।
ओरा फाइभ स्पोर्ट ट्रिममा नयाँ पेन्ट डिजाइन र एरोडाइनामिक बडी किट प्रयोग गरिएको छ । अझ आक्रामक डिजाइनका लागि जीटी ट्रिममा फ्रन्ट स्प्लिटर, रियर स्पोइलर र साइड स्कर्ट थपिएको छ । जीटी ट्रिमको बाहिरी भागमा ह्विल, हेडलाइट, ब्रेक तथा एरोडाइनामिक पार्ट्समा रातो एक्सेन्ट प्रयोग गरिएको छ । टिजरमा देखाइएको जीटी मोडलको अगाडिको फेन्डरमा चार्जिङ पोर्ट देखिएकाले यो ईभी संस्करण हुन सक्ने अनुमान गरिएको छ ।
ओराले यसअघि सार्वजनिक गरेको ओरा थ्रीको जीटी संस्करणमा पनि यस्तै डिजाइन केन्द्रित बडी किट प्रयोग गरेको थियो । त्यसमा पनि नियमित टप ट्रिमको तुलनामा पावर वा च्यासिसमा ठूलो परिवर्तन गरिएको थिएन । त्यसैले ओरा फाइभ जीटीमा पनि मुख्य सुधार डिजाइनमै केन्द्रित हुने सम्भावना छ ।
ओरा फाइभ जीडब्लूएमको नयाँ कफी पाइलट ३ ओएस प्रयोग गर्ने पहिलो मोडल हो । कम्पनीको नयाँ लेभल टु असिस्टेड ड्राइभिङ प्रणालीले नेभिगेसन अन अटोपाइलट क्षमतासमेत सपोर्ट गर्छ ।
कम्पनीका अनुसार ओरा फाइभले मल्टी स्टोरी कार पार्कभित्र समेत करिब ३ किलोमिटरसम्म स्वचालित रूपमा नेभिगेट गर्न सक्छ । ईभी संस्करणमा वैकल्पिक रूपमा लिडार प्रविधि पनि उपलब्ध गरिएको छ ।