खोटाङमा बाढीको दुःखद् प्रकोप, दुई जनाले गुमाए ज्यान

काठमाडौँ । खोटाङमा छुट्टाछुट्टै स्थानमा आएको बाढीमा परी दुई जनाको मृत्यु भएको छ। जिल्लाका दुई खोलामा बग्दा एक महिला र एक पुरुषले ज्यान गुमाएका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा माम्खाकी ४३ वर्षीया शान्ता राई शनिबार दिउँसो घरबाट निस्किएपछि छाँगे खोलामा आएको बाढीले बगाएकी थिइन्। उनको खोजी गर्ने क्रममा राति खोलामै शव फेला परेको प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार खाइखुरे खोल्सा तर्ने क्रममा आएको बाढीमा बगेका थिए। खोजी अभियानका क्रममा उनको शव घटनास्थलबाट करिब १ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शान्ता राईको शव आइतबार जिल्ला अस्पताल दिक्तेलमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ। पर्शुराम परियारको शव भने सोमबार पोस्टमार्टम गरिने तयारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *