इरानले विश्व तेल आपूर्तिको महत्वपूर्ण मार्ग मानिने होर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। अमेरिकी हस्तक्षेप जारी रहेसम्म उक्त जलमार्ग नखोलिने इरानले जनाएको छ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) को नौसेनाले विज्ञप्ति जारी गर्दै तोकिएको समुद्री मार्गबाहिर सञ्चालन भएको एक जहाजलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जनाएको छ।
आईआरजीसीका अनुसार समुद्री सुरक्षामा जोखिम सिर्जना गर्ने उद्देश्यले ट्र्याकिङ प्रणाली बन्द गरेको जहाज नियन्त्रणमा लिइएको हो। यद्यपि, उक्त जहाजको नाम तथा अन्य विवरण सार्वजनिक गरिएको छैन।
केही जहाजले स्वीकृत मार्ग छाडेर अनधिकृत बाटोबाट होर्मुज पार गर्ने प्रयास गरेको इरानको दाबी छ।
चेतावनीपछि पनि मार्ग परिवर्तन नगरेपछि कारबाही गरिएको आईआरजीसीले जनाएको छ।
इरानविरुद्ध थप सैन्य गतिविधि भए कडा जवाफ दिने चेतावनीसमेत आईआरजीसीले दिएको छ।
थप आक्रमणको अवस्थामा क्षेत्रमा रहेका विपक्षी पक्षका नयाँ सैन्य अड्डासमेत निशानामा पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
होर्मुज जलमार्ग एसिया र युरोपतर्फ कच्चा तेल ढुवानी हुने विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो।
विश्वमा दैनिक खपत हुने करिब २० प्रतिशत तेल यही मार्ग हुँदै ढुवानी हुने गर्छ।
अमेरिका, इजरायल र इरानबीचको युद्धपछि गत फेब्रुअरी अन्त्यदेखि यो जलमार्ग प्रभावित हुँदै आएको छ। तनाव बढेसँगै कच्चा तेलको मूल्य उकालो लागेर अप्रिलमा प्रतिब्यारेल ११३ अमेरिकी डलरसम्म पुगेको थियो।
दुई साताअघि अमेरिका र इरानबीच युद्ध रोक्ने प्रारम्भिक सहमति भएपछि तेलको मूल्य घटेर प्रतिब्यारेल ६८ डलरसम्म झरेको थियो। तर, इरानमाथि पुनः अमेरिकी आक्रमण भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ।