भदौ सम्ममा आधा दर्जन नयाँ कार ब्राण्ड थपिँदै

साउन महिनाको अन्तिममा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो र भदौ दोस्रो साता हुने नाडा अटो शो २०२६ मार्फत करिब आधा दर्जन नयाँ कार ब्राण्ड नेपाल आउने जनाइएको छ।

अहिले नै कुन कुन ब्राण्ड आइपुग्छन् भन्ने सबै टुंगो लागिसकेको छैन । तर, मोटामोटी बुकिङ भएका स्टललाई आधार मान्दा करिब आधा दर्जन नयाँ ब्राण्ड नेपाल आउन लागेको सहजै अनुमान गर्न सकिन्छ ।

नेपाल आउन लागेका अधिकांश ब्राण्ड चीनबाटै आउने भएका हुन् । जसमा अहिलेसम्म आउने निश्चित भइसकेका ब्राण्डहरू बीएआइसी, आरफक्स, चेरी क्यूक्यू, चांगान निभो लगायत छन् ।

यी ब्राण्डका अलावा जेटोर, लेपास, हंकी जस्ता ब्राण्ड पनि नेपालमा बिक्री थाल्ने योजनामा छन् । अहिलेसम्म कुन कुन व्यवसायिक घरानाले यी ब्राण्ड ल्याउँदैछन् भन्ने एकिन जानकारी भने बाहिर आएसकेको छैन ।
नेपालमा बिक्री थाल्ने एकिन भइसकेको बीएआइसी र आरफक्स ब्राण्डका कार लक्ष्मी इमोबिलिटीले नेपाल ल्याउने छ ।

लक्ष्मी ग्रुप अन्तर्गत आउने चिनियाँ सरकारी स्वामित्वको बीएआइसी ग्रुपका उत्पादन विद्युतीय र हाइब्रिड हुनेछन् ।आरफक्स ब्राण्डमा टी वान प्रिमियम ह्याचब्याक कार आउने छ । यो प्योर इलेक्ट्रीक ह्याचब्याक हो ।

त्यसैगरी अफरोड भेहिकलको लागि परिचित बीएआइसीको बीजे ३० ई मोडल नेपाल आउने छ । लाइफ स्टाइल भेहिकल खोज्नेको लागि उपयुक्त हुने बीजे ३० ई स्ट्रङ हाइब्रिड मोडल हो ।

चेरी क्यूक्यू ब्राण्डमा आएको पहिलो मोडल क्यूक्यू थ्रीको आधिकारिक लन्च पनि नाइमा मोबिलिटी एक्स्पोमा हुनेछ । यसलाई अहिले नै चेरीका अन्य ब्राण्ड बिक्री गर्दै आएको एसपीजी अटोमोबाइलले नेपाल ल्याउन लागेको हो । चेरीको क्यूक्यू थ्री ईभी बजारमा राम्रै चर्चा ल्याउन सक्ने मोडलमा पर्ने अनुमान गरिएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *